Nov 04 2026 | २०८३ कार्तिक १९ गते

बाढीपीडित व्यवसायीसँग ढकालको प्रतिबद्धता, ‘तपाईंहरू एक्लै हुनुहुन्न, राष्ट्र बैंक र सरकारसँग पहल गर्छु’

बाढीपीडित व्यवसायीसँग ढकालको प्रतिबद्धता, ‘तपाईंहरू एक्लै हुनुहुन्न, राष्ट्र बैंक र सरकारसँग पहल गर्छु’

बुधवार, भाद्र २४ २०८३
  • काठमाडौँ। भोटेकोशी–त्रिशूली करिडोरमा गत भदौ १० गते आएको विनाशकारी बाढीले उद्योग, व्यापार र व्यावसायिक क्षेत्रमा ठूलो भौतिक तथा आर्थिक क्षति पुर्‍याएको छ।

    बाढीका कारण नुवाकोटका मात्र साना तथा ठूला गरी करिब एक हजार आठ सय भन्दा बढी उद्योग तथा व्यवसाय पूर्ण रूपमा क्षतिग्रस्त भएको जानकारी नुवाकोट उद्योग वाणिज्य संघले दिएको हो।

    images

    बाढीपीडित व्यवसायीहरूले तत्काल राहत तथा पुनरुत्थानका कार्यक्रम ल्याउन सरकारसँग माग गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चन्द्रप्रसाद ढकालसँगको छलफलमा उनीहरूले पुनः व्यवसाय सञ्चालन गर्ने वातावरण तत्काल निर्माण गर्न आग्रह गरे। बाढीले क्षति पुर्‍याएका सबैजसो उद्योग तथा व्यवसाय बैंकको ऋणमा सञ्चालन भएकाले व्यवसायीहरू थप समस्यामा परेका छन्।

    छलफलका क्रममा एक बाढीपीडित व्यवसायीले भने, ‘रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नुवाकोटका साना-ठूला गरी एक हजार आठ सय उद्योग तथा व्यवसायमा क्षति पुगेको छ, केही उद्योगी त शून्यमै पुगेका छन्।’ क्रसर र टिप्पर सबै बगाएको तथा खोला छेउका सम्पूर्ण व्यवसाय नष्ट भएको जानकारी दिँदै उनले थपे, ‘व्यवसाय बैंक ऋणमै चलेकाले सरकारले ब्याज मिनाहा गरिदिनुपर्छ। बीमाका कागजपत्र समेत नष्ट भएकाले दाबी रकम झन्झटमुक्त रूपमा भुक्तानी भए पुनरुत्थान सम्भव हुन्छ, निजी क्षेत्रको कुरा सरकारसम्म पुर्‍याइदिन महासंघलाई आग्रह गर्छौँ।’

    त्यसैगरी अर्का व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण कम्तीमा तीन वर्षका लागि नवीकरण गर्नुपर्ने र बीमा दाबीको रकम सहज रूपमा भुक्तानी गराउन राष्ट्र बैंकको गुनासो शाखामा समेत पहल गरिदिन आग्रह गरे। संकटका बेला सरकार र बैंकहरूले सहयोग गरेमा पुनः उठ्न सक्ने बताउँदै उनले निजी क्षेत्रको छुट्टै कोष बनाएर राहत बाँड्नुपर्ने धारणा राखे। वैदेशिक रोजगारीबाट कमाएको रकम व्यवसायमा लगाएका अर्का व्यवसायीले बाढीले सबै बगाएपछि जीवनयापनको आधार नै गुमेको दुखेसो पोख्दै तत्काल पुनरुत्थानको कार्यक्रम ल्याउन सरकारसँग माग गरे।

    व्यवसायीहरूसँगको संवादमा महासंघका पूर्वअध्यक्ष ढकालले बाढी प्रभावित उद्योगी तथा व्यवसायीको आधारभूत आवश्यकता पूरा गर्नु नै पहिलो प्राथमिकता भएको बताए। राजनीतिक दल, सरकार र निजी क्षेत्र मिलेर उद्धार तथा राहतको काम गर्नुपर्नेमा उनले जोड दिए।

    पूर्वअध्यक्ष ढकालले भने, ‘यो बाढीले निजी क्षेत्रलाई ठूलो पीडा दिएको छ, संकटको यो घडीमा म तपाईंहरूकै साथमा छु भन्ने विश्वास दिलाउन चाहन्छु।’ आफन्त सम्पर्कविहीन भएको अवस्था तथा गाँस, बास र कपासको समस्या पहिले समाधान गर्नुपर्ने बताउँदै उनले थपे, ‘ग्लोबल आइएमई बैंकका तर्फबाट हुने सहयोग म गर्नेछु, साथै राष्ट्र बैंकका गभर्नर र अर्थमन्त्रीसँग ऋण तथा बीमा समस्या समाधानका लागि पहल गर्नेछु, तपाईंहरू एक्लै हुनुहुन्न।’

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार