Nov 04 2026 | २०८३ कार्तिक १९ गते

जेनजी आन्दोलनले मधेसलाई दियो प्रधानमन्त्री, मधेसी जनताले के पाए ?

जेनजी आन्दोलनले मधेसलाई दियो प्रधानमन्त्री, मधेसी जनताले के पाए ?

बुधवार, भाद्र २४ २०८३
  • काठमाडौँ । नेपालको इतिहासमा पहिलो पटक मधेसी समुदायबाट प्रधानमन्त्री बने, जुन जेनजी आन्दोलनकै कारण सम्भव भएको हो।

    जेनजी आन्दोलन भएको आज एक वर्ष पूरा भएको छ । हाल महोत्तरीका बालेन्द्र शाह (बालेन) मुलुकको प्रधानमन्त्रीका रूपमा कार्यभार सम्हालिरहेका छन्।

    images

    मधेसी जनता एकातिर आफ्नै क्षेत्रको व्यक्ति प्रधानमन्त्री भएकोमा खुसी छन् भने अर्कोतिर बालेनले गरेका बाचाहरू पूरा नहुँदा असन्तुष्टसमेत देखिएका छन्।

    गत २०८२ माघ ५ गते मधेसको राजधानी जनकपुरबाट आफ्नो चुनावी अभियान सुरु गर्दै बालेनले मैथिली भाषामा सम्बोधन गरेका थिए । त्यसबेला उनले संघीयतालाई ‘बदलगर’ (बलियो) बनाउने प्रतिबद्धता जनाएका थिए।

    उनले भनेका थिए, ‘अब अधिकारका लागि काठमाडौँ धाउनुपर्दैन, केवल घुम्नका लागि मात्र गए हुन्छ ।’ यस भनाइले मधेसी जनतामा ठुलो आशा जगाएको थियो, तर त्यो अपेक्षा पूरा नहुँदा जनतामा निराशा छाएको सामाजिक अभियन्ता साहन साह बताउँछन्।

    उनी भन्छन्, ‘मधेसले प्रधानमन्त्री पाउनु जेनजी आन्दोलनको सकारात्मक उपलब्धि हो, तर प्रधानमन्त्री बन्नका लागि बालेनले गर्नुभएको बाचा पूरा नहुँदा जनता निराश छन् ।’ देशभरमै मधेस प्रदेशबाट उनलाई सबैभन्दा बढी मत प्राप्त भएको थियो, तर त्यो मत बालेनका लागि थियो कि रास्वपाका लागि भन्नेमा जनता अझै अलमलमै रहेको उनको बुझाइ छ।

    अभियन्ता साहका अनुसार जुन उद्देश्यका लागि मतदान गरिएको थियो, मधेसी जनताले त्यसको प्रतिफल पाउन सकेका छैनन् । बलियो संघीयता, सुशासन र युवा रोजगारी जस्ता नाराहरू व्यवहारमा लागू नभएको उनले टिप्पणी गरे।

    मधेस प्रदेशका ३२ सिटमध्ये रास्वपाले ३० सिट जितेको छ भने समानुपातिकतर्फ मधेसबाटै ५६.५९ प्रतिशत मत प्राप्त भएको छ । सप्तरीका सामाजिक अगुवा डा. सूर्य यादवका अनुसार यति ठुलो जनमत दिएर पठाइएको रास्वपाको भूमिकाबारे मधेसी जनताले अब समीक्षा गर्न थालेका छन् । जेनजी आन्दोलनपछि बनेको सरकारबाट मधेसका युवाले ठुलो अपेक्षा राखे पनि त्यो पूरा नहुँदा उनीहरूमा वितृष्णा पलाएको उनको दाबी छ।

    ‘मुलुकको नेतृत्व युवाको हातमा भए पनि युवाहरू अझै बेरोजगार छन् र विदेश पलायन हुने क्रम रोकिएको छैन। नेपालमै रहेकाहरूले पनि समान अवसर पाएका छैनन्,’ यादव भन्छन्, ‘मधेसले मत दिएर बालेनलाई प्रधानमन्त्री त बनायो, तर त्यसको बदलामा मधेसले केही पाउन सकेन ।’ पछिल्लो समय सरकारले गरेका नियुक्तिहरू समावेशी नभएको दाबी गर्दै उनले मधेसी मूलकै प्रधानमन्त्री हुँदा पनि मधेसका जनता निराश हुनु दुःखद रहेको बताए।

    ‘अब की बालेन सरकार’ भन्ने नाराका साथ मधेसले उनलाई प्रधानमन्त्री बनाए पनि अपेक्षा र उपलब्धिबिच ठुलो खाडल रहेको लेखक एवं सामाजिक अगुवा डा. दीपक चौधरी बताउँछन् । उनी भन्छन्, ‘आफ्नै क्षेत्रको छोरो प्रधानमन्त्री बनेपछि मधेसका समस्या समाधान हुनेमा जनता ढुक्क थिए, तर व्यवहारमा त्यस्तो हुन सकेको छैन।’

    यद्यपि, वर्तमान सरकारले केही गर्ने हुटहुटी देखाएको र सुशासनका क्षेत्रमा केही आशा जगाएको चौधरीको तर्क छ। उनी भन्छन्, ‘देशको नेतृत्व युवाले गरेको छ, विकासका लागि यो भन्दा अर्को अवसर आउन सक्दैन । सरकार गठन भएको अझै एक वर्ष पुग्न बाँकी छ, त्यसैले अहिले नै निर्मम समीक्षा गरिहाल्ने बेला भएको छैन । सरकारले अब सुशासनसँगै विकासमा बढी जोड दिनुपर्छ।’

    अभियन्ता साहका अनुसार जेनजी आन्दोलनपछिको सरकारले सुशासनको मुद्दामा जनतालाई आशावादी त बनाएको थियो, तर जनताले त्यसको वास्तविक अनुभूति अझै गर्न पाएका छैनन् । तसर्थ, सरकारको कार्यशैली र परिणामबारे गम्भीर समीक्षा हुनु आवश्यक देखिन्छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार