Nov 04 2026 | २०८३ कार्तिक १९ गते

अस्ट्रेलियाली प्रधानमन्त्रीले भने– दुःखको घडीमा नेपाल एक्लो छैन

अस्ट्रेलियाली प्रधानमन्त्रीले भने– दुःखको घडीमा नेपाल एक्लो छैन

सोमवार, भाद्र २२ २०८३
  • काठमाडौँ । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नेपालप्रति ऐक्यबद्धता जनाउँदै पीडितहरूप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।

    नेपालले अगस्ट २६ मा भोटेकोशी नदीमा आएको विनाशकारी आकस्मिक बाढी पछि सोमबार राष्ट्रिय शोक मनाइरहेका बेला अस्ट्रेलियाली प्रधानमन्त्री अल्बानिजले संसदमा सम्बोधन गर्दै नेपालप्रति ऐक्यबद्धता व्यक्त गरेका हुन्।

    images

    हिमनदी भत्किएपछि आएको बाढीले नेपाल–चीन सीमाको दुवैतर्फ ठुलो विनाश निम्त्याएको र यसको सबैभन्दा ठुलो असर नेपालले बेहोरेको अल्बानिजले बताए । विपद्का कारण धेरै मानिसले आफ्ना प्रियजन, घर, गाउँ तथा जीविकोपार्जन गुमाएको उनले उल्लेख गरे।

    ‘धेरै मानिस अहिले क्षतिको पीडासँग जुधिरहेका छन् । प्रियजन गुमाएको पीडा, घर गुमाएको पीडा, पूरै गाउँ र जीविकोपार्जन गुमाएको पीडा उनीहरूले भोगिरहेका छन्,’ अल्बानिजले संसदमा भने।

    सम्बोधनकै क्रममा आफूले शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाहसँग फोनमा कुराकानी गरेको पनि उनले बताए । यस क्रममा अस्ट्रेलियाको तर्फबाट आफूले बाढी प्रभावित सबैलाई समवेदना व्यक्त गरेको उनले भने । ‘यस विपद्बाट प्रभावित सबै नेपालीप्रति अस्ट्रेलियाको तर्फबाट म गहिरो समवेदना व्यक्त गर्छु,’ उनले भने।

    ‘आज नेपालले राष्ट्रिय शोक मनाइरहेको छ । म हाम्रा नेपाली साथीहरूलाई भन्न चाहन्छु– उनीहरूले यो भार एक्लै बोक्नुपर्दैन । हाम्रो विचार उनीहरू र यस विपद्बाट प्रभावित सबैसँग छ,’ उनले भने।

    बाढीमा परेर ३६ जना अस्ट्रेलियाली नागरिक अझै सम्पर्कविहीन रहेको अल्बानिजले बताए । बेपत्ता अस्ट्रेलियाली नागरिकका परिवार र साथीहरूप्रति सबै अस्ट्रेलियाली जनताको साथ रहेको भन्दै बेपत्ताहरूको खोजी तथा सकुशल फिर्तीको लागि प्रार्थना गर्न पनि उनले अस्ट्रेलियाली नागरिकलाई आग्रह गरे।

    विपद् प्रभावितका लागि आपत्कालीन सहयोग अभियानमा आर्थिक सहयोग गर्ने अस्ट्रेलियाली नागरिकलाई पनि उनले धन्यवाद दिए । विपद्का बेला प्राप्त सहयोगले मानवताको साझा भावना र सङ्कटमा एक अर्कालाई साथ दिने प्रतिबद्धता देखाएको उनको भनाइ थियो।

    ‘हामीले सामना गर्ने चुनौती जति ठुलो भए पनि त्यसको सामना हामी सबैले मिलेर, मानवताको साझा भावनासहित गर्छौं,’ अल्बानिजले संसदमा भने।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार