काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्ष २०८३/८४ को पूर्ण बजेट भदौ मसान्तभित्रै ल्याउने तयारी गरेको छ । सत्तारुढ गठबन्धनको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्न आयोजित कार्यक्रममा मुख्यमन्त्री खगराज भट्टले भदौ मसान्तभित्र ‘फास्ट ट्र्याक’ बाट बजेट ल्याउने तयारी भइरहेको बताए।
अघिल्लो सरकारले बजेट ल्याउन नसक्दा प्रदेशमा उत्पन्न अन्योल अन्त्य गर्दै नयाँ सरकारले सुशासन र विकासमुखी बजेट ल्याउने उनले जानकारी दिए । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिचको गठबन्धनले प्रदेशको औचित्य र गरिमा स्थापित गर्ने गरी काम गरिरहेको उनको भनाइ थियो।
बजेट ल्याउन केही ढिलाइ भएको स्वीकार गर्दै मुख्यमन्त्री भट्टले त्यसका लागि अघिल्लो सरकारको राजनीतिक अस्थिरतालाई मुख्य कारणका रूपमा प्रस्तुत गरे । अप्रत्याशित राजनीतिक परिस्थितिका कारण नयाँ सरकार गठन भएको र अघिल्ला सत्तारुढ दलहरूबिच बजेटका विषयमा गम्भीर मतभेद देखिएपछि बजेट आउन नसकेको उनले बताए।
‘हतारमा टालटुले बजेट ल्याउनुभन्दा शब्द–शब्द र बुँदा–बुँदामा छलफल गरेर गुणस्तरीय बजेट निर्माण गर्न समय लागेका हो,’उनले भने।
मुख्यमन्त्री भट्टले भ्रष्टाचार नियन्त्रणलाई पनि सरकारले प्राथमिकतामा राखेको बताए। ‘कर्मचारी र बिचौलिया, सांसद तथा मुख्यमन्त्री र मन्त्रीहरूलाई भ्रष्टाचार छिर्ने तीन वटा ढोकाका रूपमा व्याख्या गर्दै ती सबै ‘प्वाल’ बन्द गर्ने रणनीति बनाइएका छ,’उनले भने।
यस पटकको बजेट विगतका भन्दा धेरै बेथितिमुक्त हुने दाबी गर्दै उनले बजेट कार्यान्वयनमा पनि कडाइ गरिने बताए।
सरकारले नियुक्त गरेका सल्लाहकारको भूमिकाबारे उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री भट्टले लामो अनुभव भएका विज्ञहरूको सुझाव र मार्ग निर्देशनमा बजेट निर्माण भइरहेको जानकारी दिए । बजेट लेखनको काम भने अर्थ मन्त्रालयले नै गर्ने उनले स्पष्ट पारे।
सुदूरपश्चिमको ऐतिहासिक विरासत र संस्कृति झल्कने गरी प्रदेशको राजधानी निर्माण गर्ने, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधार गर्ने र रोजगारीका अवसर बढाउने योजना बजेटमा समेटिने उनले बताए।
दशरथचन्द मेडिकल विश्वविद्यालय स्थापना, सेती र महाकाली अस्पतालको स्तरोन्नतिलगायत गौरवका आयोजनालाई सरकारले प्राथमिकतामा राख्ने उनले जनाए।
प्रदेश योजना आयोग गठन भइसकेको र सबै मन्त्रालयलाई बजेट निर्माणका लागि आवश्यक नीतिगत निर्देशन दिइसकिएको भन्दै मुख्यमन्त्री भट्टले तोकिएको समयभित्रै पूर्ण बजेट आउने दाबी गरे।



