Nov 04 2026 | २०८३ कार्तिक १९ गते

चिलिमे, लाङटाङ र त्रिशूली हाइड्रोका टनेलभित्र छिरेर उद्धार प्रयास भइरहेको छ : नेपाली सेना

चिलिमे, लाङटाङ र त्रिशूली हाइड्रोका टनेलभित्र छिरेर उद्धार प्रयास भइरहेको छ : नेपाली सेना

मंगलवार, भाद्र १६ २०८३
  • काठमाडौँ । नेपाली सेनाले बाढीपहिरो प्रभावित क्षेत्रमा हवाई तथा जमिनी माध्यमबाट खोज, उद्धार र राहत कार्यलाई तीव्र बनाएको जानकारी दिएको छ।

    मंगलबार बिहान ११ बजेसम्म हवाई साधनमार्फत २३ जनाको उद्धार गरिएको सेनाले जानकारी दिएको हो।

    images

    army rescue (1)

    जलविद्युत् आयोजनाका टनेलभित्र फसेकाहरूको खोजीका लागि विदेशी विज्ञसहितको संयुक्त टोली परिचालन गरिएको छ। चिलिमे हाइड्रोमा टोलीले टनेलभित्र प्रवेश गरी करिब ५० मिटरसम्म खोजी कार्य गरेको छ।

    लाङटाङ हाइड्रोमा १५० मिटर र अपर त्रिशूली-१ हाइड्रोमा करिब २०० मिटरसम्म प्रवेश गरेर खोजी भइरहेको छ। त्रिशूली-३ ए हाइड्रोको टनेल हेड फेला परेकाले कम्प्रेसरमार्फत हावा पठाउने काम भइरहेको छ।

    टनेलभित्रको पानी निकाल्ने कामसँगै ३ वटा एक्साभेटर प्रयोग गरी पछाडितर्फको वैकल्पिक मार्ग करिब १५ मिटर खोलिएको छ। टनेलभित्र छिर्ने स्थान बनाउन रक ब्रेकरबाट ढुङ्गा फुटाउने कार्य भइरहेको छ। 

    army rescue (2)

    त्रिशूली-३ बी आयोजनामा पनि विज्ञसहितको फौजले टनेलको प्रवेशद्वार पत्ता लगाई एक्साभेटर प्रयोग गरेर खन्ने काम गरिरहेको छ। बाढी आएलगत्तै विभिन्न हाइड्रो इलाकाहरूबाट हालसम्म २७९ जनाको जीवितै उद्धार गरिसकिएको छ।

    जसअन्तर्गत रसुवागढीबाट २, माथिल्लो त्रिशूली १ बाट ३३, माथिल्लो त्रिशूली ३ ए बाट २२१, माथिल्लो त्रिशूली ३ बी बाट २, मैलुङबाट ९, नुवाकोट सौर्य विद्युत्बाट ४, त्रिशूली जलविद्युत्बाट ३ र देवघाट जलविद्युत्बाट ५ जना रहेका छन्।

    प्रभावित क्षेत्रका जङ्गल, डाँडा, खोला र बस्तीहरूमा स्थानीयलाई सुरक्षाको प्रत्याभूति दिलाउन नेपाली सेनाले पैदल गस्ती गरिरहेको छ। रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रमा सेनाका ९ हजार २ सयभन्दा बढी फौज प्रत्यक्ष रूपमा खटिएका छन्। सेनाको टोलीले घाइतेहरूको खोज तथा उद्धार, शव व्यवस्थापन, अवरुद्ध सडक सञ्चालन र आपत्कालीन उपचारको काम समन्वयात्मक रूपमा गरिरहेको छ।

    रोग फैलिन नदिन प्रभावित इलाकाहरूमा निसंक्रमण गर्ने कार्यलाई पनि अघि बढाइएको छ। धुन्चे बजार, श्री नं. १ सैन्य तालिम केन्द्र, त्रिशूली, देवघाट तथा परासीस्थित पृथ्वीचन्द्र अस्पताल, सुनवल नगरपालिका-४ र मुलपानी सामुदायिक वन इलाकामा औषधि छर्किएर निसंक्रमण गरिएको छ।

    अन्य प्रभावित स्थानहरूमा पनि स्थानीय निकायसँग समन्वय गरेर निसंक्रमणको काम अघि बढाउने तयारी भइरहेको सेनाको भनाई छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार