Nov 01 2026 | २०८३ कार्तिक १६ गते

प्रधानमन्त्रीलाई नेकपा सांसदले भने- असफल भइसक्नुभयो, राजीनामा दिनूस्

प्रधानमन्त्रीलाई नेकपा सांसदले भने- असफल भइसक्नुभयो, राजीनामा दिनूस्

शुक्रवार, भाद्र ५ २०८३
  • काठमाडौँ । राष्ट्रिय सभा सदस्य एवं नेपाली कम्युनिष्ट पार्टीका सांसद विष्णुबहादुर विश्वकर्माले वर्तमान सरकार जनअपेक्षा पूरा गर्न पूर्णतः असफल भएको आरोप लगाएका छन्।

    शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद विश्वकर्माले सरकारले सुशासन र समृद्धिको नारा दिएपनि व्यवहारमा जनताले सास्ती मात्र पाएको दाबी गरे। उनले नयाँ शक्ति र वर्तमान सरकारले निर्वाचनका बेला गरेका प्रतिवद्धताहरू केवल प्रचारबाजीमा सिमित भएको टिप्पणी गरे।

    images

    सांसद विश्वकर्माले सरकारको कार्यकालमा मानवअधिकार र संविधानको उल्लङ्घनका घटना बढेको उल्लेख गर्दै ११ जना सुकुम्बासीको मृत्यु, ५ जना युवाको आत्मदाह र जनताको उठिबास हुनुलाई ‘नयाँ सुशासन’ को संज्ञा दिँदै व्यङ्ग्य गरे।

    उनले देशको अर्थतन्त्र धराशायी बनेको र मुख्य सूचक मानिने शेयर बजारको अवस्था निकै चिन्ताजनक रहेको बताए। लगानीकर्तामा विश्वास जगाउन नसक्दा पुँजी पलायन सुरु भएको र यसले रोजगारी तथा राजश्वमा गम्भीर धक्का पुग्ने उनको भनाइ छ।

    उनले भने, ‘बजेट निर्माणदेखि जनताको उठिबाससम्म जनताले के पाए? पुरानाले दिन नसकेको भनिएको नयाँ सुशासन यही हो? जनताको उठिबास, दाउरे युगतर्फको यात्रा, ११ जना सुकुम्बासीको मृत्यु र आत्महत्या, ५ जना युवाको आत्मदाह तथा संविधान, मानवअधिकार र अन्तर्राष्ट्रिय महासन्धिको उल्लङ्घन–के यही नयाँ सुशासन हो? देशको समृद्धि कहाँ पुग्यो ? अर्थतन्त्र कहाँ पुग्यो? सिजनमै सेयर बजारको कहालीलाग्दो अवस्था, विश्वासको संकटसँगै सुरु भएको पुँजी पलायन, रोजगारी र राजस्वमा पर्ने असरले अर्थतन्त्र गम्भीर अवस्थामा पुगेको देखिन्छ।’

    सांसद विकले थपे, ‘सरकार सदन र जनताप्रति उत्तरदायी हुनुपर्नेमा कुनै प्रभुप्रति उत्तरदायी भएको जस्तो देखिन्छ। प्रधानमन्त्रीको राष्ट्रघाती अभिव्यक्ति नसच्चिनुले सरकारको नियतमाथि थप प्रश्न उठाएको छ। राहदानी छपाइ, कर्मचारीको सरुवा–बढुवा–पदस्थापनदेखि वायुसेवा निगममा मेरिटलाई लत्याएर चाकडीदारलाई नियुक्ति गर्ने प्रवृत्तिले सरकारलाई लज्जित बनाएको छ। सरकार र मन्त्रीका निर्णय सर्वोच्च अदालतबाट उल्टिनु पनि सरकारको असफलताको प्रमाण हो।’

    प्रधानमन्त्रीको कार्यशैलीप्रति आपत्ति जनाउँदै सांसद विश्वकर्माले देश प्रधानमन्त्री र उनको सचिवालयको सामाजिक सञ्जाल (स्ट्याटस) को भरमा चलेको टिप्पणी गरे। सरकार सदन र जनताप्रति उत्तरदायी हुनुपर्नेमा कुनै निश्चित प्रभुप्रति उत्तरदायी देखिएको उनले आरोप लगाए।

    प्रधानमन्त्रीले आफ्नो विवादास्पद अभिव्यक्ति सच्याउन तयार नभएको उल्लेख गर्दै प्रधानमन्त्री स्वयं असफल भइसकेको दाबी समेत गरे।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार