Nov 02 2026 | २०८३ कार्तिक १७ गते

असारमा चामल, अण्डा र तरकारीको मूल्य अचाक्ली बढ्यो, २५३ प्रतिशतले महँगियो लोकल गोलभेडा

असारमा चामल, अण्डा र तरकारीको मूल्य अचाक्ली बढ्यो, २५३ प्रतिशतले महँगियो लोकल गोलभेडा

मंगलवार, भाद्र २ २०८३
  • काठमाडौँ। भान्सामा दैनिक प्रयोग हुने तरकारी तथा उपभोग्य वस्तुको मूल्यमा अस्वाभाविक वृद्धि हुँदा आम उपभोक्ता चरम महँगीको मारमा परेका छन्।वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सार्वजनिक गरेको ‘आ.व. २०८२/८३ को असार महिनाको मूल्य विश्लेषण प्रतिवेदन’ अनुसार बजारमा बिचौलियाको प्रभाव र अचाक्ली मूल्यवृद्धि भएको पाइएको छ।

    विभागले काठमाडौँ उपत्यकासहित विराटनगर, वीरगञ्ज, भैरहवा, नेपालगञ्ज र धनगढीको बजार अध्ययन गरी तयार पारेको उक्त प्रतिवेदनअनुसार असार महिनामा चामल, अण्डा, फलफूल र विशेष गरी तरकारीको मूल्य आकासिएको छ।

    images

    प्रतिवेदनअनुसार वैशाख महिनाको तुलनामा असारमा तरकारी र फलफूलको मूल्यमा उच्च उतारचढाव आएको छ। सबैभन्दा धेरै सानो लोकल गोलभेडाको मूल्य २५३ प्रतिशतले बढेको छ।त्यसैगरी, हरियो बुलेट खुर्सानी १७९.४ प्रतिशत, आँप (दशहरी) १६० प्रतिशत, टनेलको सानो गोलभेडा १५८.६ प्रतिशत र पिँडालु १५७ प्रतिशतले महँगिएको छ।

    विभागका अनुसार लामो भन्टा, बोडी, रायोको साग, हरियो धनियाँलगायतका तरकारीमा समेत १०० प्रतिशतभन्दा बढी मूल्यवृद्धि भएको छ । बेमौसमी समय र बिचौलियाका कारण तरकारीको भाउमा ‘आगो’ लागेको प्रतिवेदनको निष्कर्ष छ।तरकारी मात्र होइन, दैनिक उपभोग्य खाद्यान्नको मूल्यले पनि उपभोक्ताको ढाड सेकेको छ । असार महिनामा सोना मन्सुली, जिरा मसिनो लगायत सबै प्रकारका चामल, अण्डा, केरा र चिनीको मूल्य बढेको छ।

    यद्यपि, उपभोक्तालाई केही राहत भने पिठो (आटा, मैदा), मकै र खाने तेलको मूल्यमा मिलेको छ। यी वस्तुहरूको मूल्य असारमा सामान्य घटेको छ । त्यस्तै, बजारमा ’बर्ड फ्लु’ को हल्ला चलेका कारण ब्रोइलर कुखुराको मासुको मूल्य घटेको विभागले जनाएको छ भने खसी र माछाको मूल्यमा खासै ठुलो परिवर्तन देखिएको छैन।

    महँगीको मुख्य कारण : बिचौलियाको रजााइँ र ढुवानी भाडा

    यतिविघ्न मूल्यवृद्धि हुनुमा विभागले मुख्यगरी बजारका धेरै तह (बिचौलिया), उच्च ढुवानी भाडा र उत्पादनमा कमीलाई मानेको छ । बजारमा तह धेरै हुँदा उत्पादक किसानले न्यून मूल्य पाउने र उपभोक्ताले चर्को मूल्य तिर्नुपर्ने अवस्था सिर्जना भएको छ।

    अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उतारचढाव आए पनि असार महिनामा नेपालमा पेट्रोलियम पदार्थको मूल्य स्थिर रह्यो । पेट्रोल प्रतिलिटर २१७ रुपैयाँ, डिजेल र मट्टितेल २२५ रुपैयाँ र खाना पकाउने ग्यास २ हजार १० रुपैयाँमा कारोबार भयो।इन्धनको मूल्य नघट्दा ढुवानी भाडा महँगो पर्न गई त्यसको प्रत्यक्ष असर बजार मूल्यमा परेको विभागको दाबी छ।

    कालोबजारी र सिन्डिकेटमा ‘शून्य सहनशीलता’

    बजारमा देखिएको अस्वाभाविक मूल्यवृद्धि र अकर्मण्यता रोक्न विभागले कडा कदम चाल्ने चेतावनी दिएको छ। प्रतिवेदनमार्फत विभागले सिन्डिकेट, कार्टेलिङ र कालोबजारी जस्ता अपराधमा ‘शून्य सहनशीलता’ अपनाई तुरुन्त कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएको छ।

    अबका दिनमा बजार अनुगमनलाई थप सघन र प्रभावकारी बनाउने, पैठारी तथा उत्पादन हुने हरेक वस्तुमा अधिकतम खुद्रा मूल्य (एमआरपी) अनिवार्य रूपमा अङ्कित गराउने र बिचौलियाको तह घटाउन विशेष पहल गरिने विभागले जनाएको छ।साथै, बेमौसमी तरकारीको मूल्य नियन्त्रण गर्न कृषि प्रणालीमै सुधार गर्नुपर्ने सुझाव पनि सरकारलाई दिइएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार