Nov 03 2026 | २०८३ कार्तिक १८ गते

कांग्रेस महाधिवेशनमा अन्योल : वडा अधिवेशन स्थगितदेखि सदस्यता विवादमा रुमल्लिँदै

कांग्रेस महाधिवेशनमा अन्योल : वडा अधिवेशन स्थगितदेखि सदस्यता विवादमा रुमल्लिँदै

मंगलवार, भाद्र २ २०८३
  • काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि तोकिएको प्रारम्भिक कार्यतालिका प्रभावित हुन थालेपछि निर्धारित समयमै महाधिवेशन हुनेमा संशय पैदा भएको छ । भदौ २ गतेदेखि सुरु गर्ने भनिएको वडा अधिवेशन अन्तिम समयमा आएर स्थगित हुनु र क्रियाशील सदस्यताको टुङ्गो लाग्न नसक्नुले महाधिवेशनको भविष्यमाथि प्रश्न उठाएको छ।

    पार्टी सभापति गगन थापाले भदौ १ गते नै केन्द्रीय कार्यसमिति बैठकमा देशभरका वडा अधिवेशनहरू रोकिएको घोषणा गरेका थिए । तर, नयाँ मिति कहिले हुने भन्ने विषयमा पार्टीले अझै कुनै ठोस निर्णय लिन सकेको छैन । प्रवक्ता देवराज चालिसेका अनुसार केन्द्रले नयाँ मिति तोकेको छैन । स्थानीय तहमा निर्वाचन अधिकृतहरूले प्राकृतिक विपत्ति र मौसमको अवस्था हेरेर अधिवेशनको मिति तय गर्ने प्रवक्ता चालिसेले जानकारी दिए।

    images

    महाधिवेशनको कार्यतालिका प्रभावित हुनुमा पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलन पनि मुख्य कारण देखिएको छ। सभापति थापाले सोमबार मात्रै पार्टीभित्रको इतर समूहसँग सहमतिका लागि २० दिन काम गर्ने बताएका थिए । यदि इतर पक्षलाई समेट्न २० दिन संवादमै खर्चिने हो भने वडा तहदेखि माथिल्लो तहका सबै अधिवेशनहरू थप पछाडि धकेलिने निश्चित छ।

    महाधिवेशनको मेरुदण्ड मानिने क्रियाशील सदस्यता वितरण र अद्यावधिकको काम अझै सकिएको छैन । यसअघि नै सबै तहबाट केन्द्रमा सदस्यताको विवरण पठाउने समय घर्किसकेको छ । केन्द्रले सदस्यतामाथि आवश्यक छानबिन गरी टुङ्ग्याउने अवधि मात्र होइन, अद्यावधिक नामावली केन्द्रीय निर्वाचन समितिलाई बुझाउने समय पनि सकिएको छ । यस्तै, जनसम्पर्क समितिहरूको अधिवेशन गर्ने म्याद पनि गुज्रिसकेको छ।

    यद्यपि, महामन्त्री तथा सदस्यता व्यवस्थापन समितिका संयोजक प्रदीप पौडेलले आइतबारको केन्द्रीय समिति बैठकमा क्रियाशील सदस्यता नवीकरण, अद्यावधिक र वितरणको काम लगभग सकिएको दाबी गरेका थिए । महामन्त्री पौडेलका अनुसार काम सकिए पनि केही प्राविधिक विषयहरू मिलाउन बाँकी रहेकाले ढिलाइ भएको हो।

    सभापति थापाले आइतबार केन्द्रीय समिति बैठकमा इतर समूहसँग सहमति बनेको खण्डमा सदस्यताकै कारण कसैलाई पनि महाधिवेशनमा सहभागी हुनबाट नरोकिने बताएका थिए । ‘महाधिवेशनमा सबैको सहभागिता सुनिश्चित गर्न र सदस्यताका कारण कोही पनि वञ्चित नहुने अवस्था सिर्जना गर्न म सचेत छु,’ सभापति थापाले भने।

    तर,एकातिर कार्यतालिकाका वैधानिक म्यादहरू सकिँदै जानु र अर्कोतिर प्राविधिक तथा राजनीतिक व्यवस्थापनका कामहरू बाँकी रहनुले कांग्रेसको १५ औँ महाधिवेशन समयमै सम्पन्न गर्न नेतृत्वलाई निकै सकस हुने देखिन्छ । यदि वडा अधिवेशनहरू छिट्टै सुरु हुन सकेनन् भने यसको प्रत्यक्ष असर जिल्ला, प्रदेश र केन्द्रीय महाधिवेशनमा पर्ने निश्चित छ।

    यस्तो थियो केन्द्रीय समितिले निर्णय गरेर ल्याइएको १५ औँ महाधिवेशनको कार्यतालिका

    15 115 215 3

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार