काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले रोल्पामा बाढी–पहिरोले पुर्याएको क्षति र नागरिकले भोग्नुपरेको सास्तीबारे संसद्को ध्यानाकर्षण गराएकी छन्।प्रतिनिधिसभाको मंगलबारको बैठकमा धितालले रोल्पाको थवाङ, सुनछहरी र लुङ्ग्रीमा गएको बाढी–पहिरोमा परेर हालसम्म १७ जनाको मृत्यु भइसकेको र अझै धेरै व्यक्ति बेपत्ता रहेको बताइन्।
धितालले मान्छेको अमूल्य ज्यान केवल तथ्याङ्क र अङ्कमा सीमित भएको देख्दा डर लाग्ने बताइन्। उनले भनिन्,‘१७ जनाको मृत्यु वा बेपत्ता हुनु भनेको केवल सङ्ख्या होइन, १७ वटा संसार र सपनाहरू चिनिनु हो। कसैको काख रित्तिँदाको पीडा कुनै राहतको पोका वा प्याकेजले मेटाउन सक्दैन।’
विपद्मा कसले राहत बाँड्यो वा कुन नेता पुग्यो भन्ने कुरा गौण रहेको भन्दै उनले राज्यको वास्तविक उपस्थिति र संवेदनशीलताको खोजी गरिन्। ‘हामीले भनेका छौँ यो नागरिकको सरकार हो। यदि हो भने नागरिकको दुःखमा राज्य देखिनुपर्छ। राहत र उद्धारभन्दा पनि विपद् आउनुअघि नै नागरिकलाई सुरक्षित राख्ने राज्य संयन्त्र चनाखो हुनुपर्छ,’ उनले भनिन्।
परिवर्तनको इतिहास बोकेको रोल्पा अझै पनि आधारभूत आवश्यकताका लागि सङ्घर्ष गरिरहनु परेकोमा उनले दुःख व्यक्त गरिन्। सामान्य हावा चल्दा समेत सदरमुकाममा बिजुली जाने, कतै नेटवर्क त कतै सडक नपुगेको भन्दै उनले रोल्पाको विकासको मोडेलमाथि प्रश्न उठाइन्।
विद्रोह र परिवर्तनको प्रतीक मानिने थवाङ आज पर्यटकीय गन्तव्य बन्नुपर्नेमा मृत्युको डरले बाँच्नुपर्ने अवस्थामा रहेको उनले बताइन्।सम्पत्ति र घर भत्किए फेरि बनाउन सकिने तर गुमेको मान्छे फर्काउन नसकिने भन्दै उनले सरकारलाई दीर्घकालीन र जिम्मेवार बन्न आग्रह गरिन्। भोलि बिहान उठ्न पाइन्छ कि पाइँदैन भन्ने त्रासका बिच निदाउनु पर्ने रोल्पाली नागरिकको पीडामाथि सदन र सरकारको तुरुन्त ध्यान जानुपर्ने उनको माग थियो।



