काठमाडौं । इजरायलले दीर्घकालीन स्याहार केन्द्रहरूकालागि दुई हजार नेपाली कामदार लैजाने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीसँग सोमबार श्रम मन्त्रालयमा भएको शिष्टाचार भेटमा नेपालका लागि इजरायलका राजदूत हमान गोडेर गोल्डबर्गरले उक्त जानकारी दिएको मन्त्रालयले जनाएको छ ।
यसअघि इजरायलबाट आठ सय नेपाली कामदारको माग आएको थियो । त्यसमा ५ सय मुख्य उम्मेदवार र ३ सय जना वैकल्पिक उम्मेदवार छनोट हुने व्यवस्था गरिएको थियो । अब सो संख्यालाई बढाएर एक हजार मुख्य उम्मेदवार र एक हजार वैकल्पिक गरी दुई हजार नेपाली कामदार लैजाने सहमति भएको हो ।
छनोट हुने मध्ये ६० प्रतिशत महिला र ४० प्रतिशत पुरूष हुनेछन् । इजरायलमा शुरूमा करार अवधि १ वर्षको भए पनि करार अवधि थप गर्दै ५ वर्षसम्म बस्न पाइने भएको छ । भने नेपाली केयर गिभरको तलब २ लाख १० हजार हुने उल्लेख गरिएको छ ।
राजदूत गोल्ड बर्गरले इजरायलले केयर गिभर मात्रै नभइ भविष्यमा कृषि कामदार लैजाने विषयमा नेपाललाई उच्च प्राथमिकतामा राख्ने जानकारी दिएको पनि मन्त्रालयले जनाएको छ ।
इजरायल जान चाहने कामदारहरू हाल राजधानीका विभिन्न इन्स्टिच्युटमा अंग्रेजी र हिब्रु भाषाको कक्षा लिइरहेका छन् ।



