Nov 02 2026 | २०८३ कार्तिक १७ गते

‘गाँजाका सामान प्रयोग हुने, खेती र बिक्री किन रोक्ने?’

‘गाँजाका सामान प्रयोग हुने, खेती र बिक्री किन रोक्ने?’

मंगलवार, भाद्र २ २०८३
  • काठमाडौँ । नेकपा (एमाले) का सांसद राजेन्द्र कुमार राईले गाँजा खेतीलाई तत्काल कानुनी मान्यता दिन सरकारसँग माग गरेका छन्।मंगलबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद राईले गाँजा खेतीलाई आर्थिक समृद्धिको आधारका रूपमा व्याख्या गर्दै आवश्यक कानुन र विधि निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।

    गाँजा खेतीकै कारण आफ्नो निर्वाचन क्षेत्र धनकुटाका युवाहरू कानुनी झमेलामा परेको र जेल भरिएको भन्दै उनले चिन्ता व्यक्त गरे। विश्व स्वास्थ्य सङ्गठन र संयुक्त राष्ट्र सङ्घले गाँजालाई लागुऔषधको सूचीबाट हटाएर औषधीय गुण भएको वनस्पतिका रूपमा प्रमाणित गरिसकेको उनले उल्लेख गरे।विश्वका ६२ भन्दा बढी देशले यसबाट आर्थिक लाभ लिइरहेको, छिमेकी राष्ट्र भारतले समेत गाँजाबाट वार्षिक अर्बौँ रुपैयाँ आम्दानी गरिरहेको र विश्व बजारमा यसको माग उच्च रहेको उनको तर्क छ।

    images

    गाँजाबाट क्यान्सर, क्षयरोग, मधुमेह र युरिक एसिड जस्ता रोगको औषधि बनाउन सकिने भएकाले नेपालमा प्रशोधन केन्द्र स्थापना गर्नुपर्नेमा राईले जोड दिए। पहाडी जिल्लाहरूबाट भइरहेको तीव्र बसाइँसराइ रोक्न र स्थानीय तहमा रोजगारी सिर्जना गर्न गाँजा खेती कोसेढुङ्गा साबित हुने उनको दाबी छ। गण्डकी प्रदेशले यस सम्बन्धमा कानुन बनाइसकेको उदाहरण दिँदै उनले सङ्घीय सरकारले ढिलाइ गर्न नहुने बताए।

    ‘१८ देखि ३० वर्ष उमेर समूहका धेरै युवाहरू जीविकोपार्जनका लागि गाँजा खेती गर्दा आज जेलमा छन्। यसले गर्दा धनकुटाका जनतामा निराशा र त्रास छाएको छ,’ राईले भने, ‘सरकारले यस विषयलाई गम्भीरतापूर्वक लिन जरुरी छ।’गाँजाबाट बनेका जुत्ता, मोजा र टोपी जस्ता सामग्रीहरू प्रयोगमा आइसकेको उल्लेख गर्दै उनले थपे, ‘सामग्री प्रयोग गर्न हुने तर यसको व्यावसायिक खेती र विक्री गर्न किन नहुने? यो गम्भीर प्रश्न हो।’

    गाँजा ओसारपसार र खेतीको आरोपमा पक्राउ परेका निर्दोष युवाहरूलाई तत्काल रिहा गर्नसमेत उनले माग गरेका छन्। समयमै कानुन नबनाइए जनतामा व्याप्त असन्तोषले विद्रोहको रूप लिन सक्ने र त्यसले सरकारलाई अप्ठ्यारो पार्ने चेतावनी उनले दिए। मुलुकको अर्थतन्त्र सुदृढ बनाउन प्राकृतिक स्रोतका रूपमा रहेको गाँजालाई वैधानिक दायरामा ल्याउनुको विकल्प नरहेको राईको निष्कर्ष छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार