Nov 02 2026 | २०८३ कार्तिक १७ गते

झापामा जङ्गली हात्तीको वितण्डा, वैज्ञानिक व्यवस्थापन गर्न सांसद पाठकको माग

झापामा जङ्गली हात्तीको वितण्डा, वैज्ञानिक व्यवस्थापन गर्न सांसद पाठकको माग

मंगलवार, भाद्र २ २०८३
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद प्रकाश पाठकले झापा-३ मा जङ्गली हात्तीको आतङ्क नियन्त्रणका लागि वैज्ञानिक व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै उनले भारतबाट ठूलो सङ्ख्यामा प्रवेश गरेका जङ्गली हात्तीका कारण स्थानीयवासीको जनजीवन प्रभावित बनेको बताएका हुन्।

    हात्तीको बथानले किसानको धानबाली नष्ट गर्नुका साथै घरमा क्षति पुर्‍याएको र जुनसुकै बेला आक्रमण हुने जोखिम बढेको उनले औँल्याए। जलथल जङ्गलमा बसेका हात्तीले हल्दीबारीका सातघरे अधिकारी चोक, रातमाटेदेखि देउनियासम्मका नागरिकलाई प्रभावित पारेका छन्। बाह्रदशीको सुन्दरपुर, तिलबारी, सालघारी र मुजुरमाडी आसपासका किसान बसाइँ सर्ने परिस्थितिमा पुगेको तथा कचनकवल र भद्रपुरमा पनि उस्तै समस्या रहेको पाठकले जानकारी दिए।

    images

    हात्ती नियन्त्रणका लागि प्रयोग भएका उपाय प्रभावकारी बन्न नसकेको उल्लेख गर्दै पाठकले भने, ‘अब अनुगमन र निरीक्षण होइन, परिणाममुखी काम हुनुपर्‍यो। क्षति भएपछि समवेदना र सहानुभूति प्रकट गर्नुभन्दा सम्भावित क्षति नै हुन नदिनु राज्यको धर्म हो।’

    पीडामा बाँचेका नागरिकलाई राज्यले हेर्छ कि हेर्दैन भनेर हेरिरहेको उल्लेख गर्दै पाठकले भने, ‘हात्ती नियन्त्रणका लागि वैज्ञानिक व्यवस्थापन, हात्ती प्रभावित क्षेत्रमा उच्च क्षमताका ट्रान्सफर्मर जडान तथा सडकमा सोलार बत्तीको व्यवस्थापन गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउँदछु।’

    प्रभावित क्षेत्रमा सुरक्षा संयन्त्रको उपस्थिति कमजोर रहेको र विद्युत् आपूर्ति कमजोर हुँदा घरमा पर्याप्त प्रकाश नहुने तथा सडकमा सडक बत्ती नहुँदा जोखिम थप बढेको उनले बताए। हात्तीका कारण बालबालिका र वृद्धवृद्धाको सुरक्षालाई लिएर स्थानीयवासी त्रसित अवस्थामा रहेकाले पूर्वतयारी र प्रभावकारी व्यवस्थापनमा ध्यान दिन उनले माग गरेका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार