काठमाडौं । वैदेशिक रोजगारीका लागि गत आर्थिक वर्ष २०८०/८१ मा ८० हजार १ सय ७२ जना महिला रोजगारीकालागि विदेशिएका छन् । विदेशिने नेपाली श्रमिकहरुको कुल संख्या ७ लाख ४१ हजार २ सय ९७ मध्ये ८० हजार १ सय ७२ जना महिला रहेका वैदेशिक रोजगार विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।
वैदेशिक रोजगार विभागका अनुसार यो संख्या श्रम स्वीकृति लिएर जानेहरूको मात्रै हो । श्रम स्वीकृति नलिईकन भिजिट भिसामा गई काम गर्ने महिलाहरूको तथ्यांक पनि बढी नै हुने गरेको छ । यद्यपि, कति नेपाली महिला श्रमिक भिजिट भिसामा गई कामदारको रुपमा रहेका छन् भने यकिन तथ्यांक आउन सकेको छैन ।
वैदेशिक रोजगार विभागका अनुसार श्रम स्वीकृति लिएर बिदेसिएका मध्ये ७ सय ३२ जना मात्रै उच्च सीप भएका कामदार रहेका छन् । यसैगरी, पेसागत दक्षता भएकाहरूको संख्या २ हजार ७ सय ७२ रहेको छ । ६० हजार १ सय ३२ अर्धदक्ष कामदार बिदेसिएको तथ्यांक छ । यसैगरी, सीपयुक्त ५ लाख ३२ हजार १ सय २३ जना कामदार वैदेशिक रोजगारीमा गएका छन् । बाहिरिनेमध्ये १ लाख ४५ हजार ५ सय ४७ जना भने अदक्ष कामदार रहेका छन् ।
यसैगरी ४ लाख ६० हजार १ सय २ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् भने २ लाख ८१ हजार १ सय ९५ जनाले श्रम नवीकरण गरेका छन् ।



