काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद बुद्धिप्रसाद पन्तले स्थानीय तहको बेवास्ताका कारण सर्वसाधारणले सामान्य समस्यामा पनि ठूलो सास्ती खेप्नुपरेको बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै पन्तले स्रोत अभावका कारण सांसदहरू निरीह बनेर हेर्नुपर्ने बाध्यता रहेकोप्रति सरकारको ध्यानाकर्षण गराएका हुन् ।
उनले भने, ‘हामी निर्वाचन क्षेत्रमा जाँदा जनताले अनेकौँ समस्या देखाउँछन् र समाधानको आशा गर्छन्, जुन जायज पनि हो। तर, स्थानीय सरकारले न्यून बजेट र थोरै जनशक्ति परिचालन गरेर तत्काल समाधान गर्न सक्ने समस्याहरू समेत अलपत्र परेका छन्।’स्थानीय सडकमा पानी जमेर दह बनेका कारण बालबालिका वर्षातमा स्कुल जान नपाएको उनले गुनासो पोखे।
विद्यालयमा २–४ थान डेस्क–बेन्च नहुँदा विद्यार्थी भुईँमा बसेर पढ्न बाध्य छन् । कतै पङ्खाको अभावमा अत्यधिक गर्मीले बालबालिका कक्षामै बेहोस भइरहेका छन्’, पन्तले भने, ‘स्थानीय सरकारले गर्नुपर्ने यस्ता सामान्य काम पनि भएका छैनन् । सांसदहरूसँग प्रत्यक्ष कुनै स्रोत तथा कोष नहुँदा जनताका समस्या टुलुटुलु हेरेर फर्किनुको विकल्प छैन।’
विगतमा संसदीय कोषको दुरुपयोग नगरिएको भए अहिले त्यसको सही सदुपयोग गर्न सक्ने उनको भनाइ थियो। कहिलेकाहीँ उद्देश्य सही हुँदाहुँदै पनि गलत पात्र र प्रवृत्तिका कारण विषय नै विकृत हुन पुगेको पन्तले गुनासो पोखे।



