काठमाडौं । सरकारले अब संघीय सरकार मातहतका सबै कार्यालयमा १५/१५ दिनमा तलव भुक्तानी गर्ने भएको छ। महालेखा नियन्त्रक कार्यालयले सबै कोष तथा लेखा नियन्त्रक कार्यालय, निवृत्तिभरण व्यवस्थापन कार्यालय र कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयलाई पत्र लेख्दै सो प्रावधानबारे जानकारी गराएको हो।
अर्थ मन्त्रालयले गत वैशाखमा संघीय सरकार अन्तर्गतका निकायमा कार्यरत कर्मचारीलाई अर्धमासिक रुपमा तलव भुक्तानी दिने निर्णय गरेको थियो । तर, प्रणाली विकास नभएका कारण सो घोषणा कार्यान्वयनमा आइसकेको थिएन। कार्यालयले सोमबार एक निर्णय गर्दै हरेक महिनाको १५ दिन व्यतित भएपछि अर्धवार्षिक रुपमा तलव भुक्तानी गराउने बताएको हो । अब अर्धमासिक रुपमा तलव, भत्ता समेत भुक्तानी हुनेछ।
कार्यालयले कोलेनिकाहरूको कार्य क्षेत्रभित्रका संघीय निकायबाट माथि उल्लेख अनुसारको भुक्तानीका लागि निकासा माग भए त्यसको व्यवस्था मिलाउन समेत भनेको छ।सरकारले निर्णयको सुरुवातमा अर्थ मन्त्रालयबाट यो कार्यक्रम थालेको हो । चालु आवबाट भने सबै संघीय निकायमा बिस्तार गर्ने भनिएकोमा कार्यान्वयन १ महिना ढिला भएको हो।




