काठमाडौँ। सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाले स्वतन्त्र न्यायपालिकालाई जनताको अधिकारमा केन्द्रित बनाउन सबै पक्षले प्रभावकारी भूमिका खेल्न आवश्यक रहेको बताएका छन्।शुक्रबार नेपाल बार एसोसिएसनमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले स्वतन्त्र, सक्षम र अनुभवी कानुन व्यवसायी हुँदा मात्रै न्यायपालिकाले प्रभावकारी रूपमा कार्यसम्पादन गर्नसक्ने समेत बताए।
उनले वित्तीय अपराध, भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणजस्ता विषयमा कानुन व्यवसायी तथा न्यायकर्मीमा ज्ञानको कमी हुन नदिन जर्नल प्रकाशनलाई प्राथमिकता दिनुपर्ने समेत बताए।न्यायाधीश ढुंगानाले विधायिकाले वित्तीय अपराध, भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुन निर्माण गरिरहेको भएपनि अपराधका अवधारणाबारे कानुन व्यवसायी तथा न्यायाधीशहरूमा ज्ञानको कमी हुने गरेको बताए।
उनले न्यायपालिकालाई अझै परिष्कृत र न्यायपालिकामाथिको नागरिकको विश्वास बढाउन सबै पक्षले जिम्मेवारपूर्ण भूमिका खेल्न आवश्यक रहेको पनि बताए । उनले सर्वोच्च अदालतले एकदमै अनुशासित र व्यावसायिक निपूर्णताका साथ काम गरिरहेको समेत बताए।
उनले भने, ‘हामीले इजलासमा एकदमै अनुशासित रूपमा तयारी र व्यावसायिक निपूर्णताका साथ काम गर्ने गरेका छौँ। अनुभवी र सक्षम कानुन व्यवसायी हुँदा नै इजलासले राहतको महसुस गर्दछ । त्यसकारण यो विशेष अदालत बार एसोसिएसन गठनलाई मैले वित्तीय अपराध, भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण लगायतलाई हामीले नर्मलाइज गरिरहेका छौँ । विधायिकाले काम गरिरहेको छ । तर हामी न्यायकर्मीहरू ती हरेक अपराधको अवधारणा, त्यसको पछिल्लो विकासको कुरामा अल्पज्ञान रहिरहेका हुन्छौँ।
तसर्थ कानुन व्यावसायी तथा न्यायकर्मीहरूमा रहको अल्पज्ञानको डिफिसियन्सीलाई पूर्ति गर्न यस्ता खालका जर्नल तथा वेबसाइटहरुले हामीलाई एकदमै मद्दत पुर्याउँछन् । त्यसकारण आज सार्वजनिक भएको विशेष अदालत जर्नलमा आर्थिक अपराध र भ्रष्टाचारसँग सम्बन्धित कुराहरू र अहिलेको कृतिम बौद्धिकता (एआई) कुरा र फैसलामा भएका महत्त्वपूर्ण कुराहरूलाई समेत समेटेर आएको यसले सहयोग पुग्नेछ।
हाम अग्रजहरूले हामीलाई स्वतन्त्र न्यायपालिकाको जिम्मा लगाउनुभएको छ।द हामीले यी संस्थाहरूलाई यही रूपमा अझै गुणात्मक रूपमा परिष्कृत गर्दै न्यायपालिकालाई अझै जनताको अधिकारको कुरामा केन्द्रित हुनसक्ने र समुन्नत न्यायपालिका र समुन्नत बारको रूपमा विकसित गर्दै भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्ने हाम्रो कर्तव्य हो । त्यसमा हामी सबै लागौँ।’उनले न्यायपालिको कार्यसम्पादनलाई अझै प्रभावकारी र प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिए।



