Nov 02 2026 | २०८३ कार्तिक १७ गते

नीति निर्माणमा निजी क्षेत्रलाई ‘साक्षी’ मात्र नबनाउन महासंघ अध्यक्ष श्रेष्ठको आग्रह

नीति निर्माणमा निजी क्षेत्रलाई ‘साक्षी’ मात्र नबनाउन महासंघ अध्यक्ष श्रेष्ठको आग्रह

शुक्रवार, श्रावण २९ २०८३
  • काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले ऐन–नियम तर्जुमा गर्दा निजी क्षेत्रलाई केवल ‘साक्षी’ मात्र नबनाई अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।शुक्रबार नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को ५९ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले नीतिगत सुधार र पूर्वाधार विकासका सन्दर्भमा सरकारको ध्यानाकर्षण गराएका हुन्।

    अध्यक्ष श्रेष्ठले पर्यटन ऐन र कम्पनी ऐन जस्ता महत्त्वपूर्ण कानुनहरू निर्माण गर्दा निजी क्षेत्रलाई पर्याप्त समय नदिई हतारमा सुझाव मागिने गरेको भन्दै असन्तुष्टि व्यक्त गरे।कुनै पनि ऐन ल्याउनुअघि कम्तीमा एक महिनाको समय दिएर देशव्यापी छलफल गर्ने वातावरण बनाउन उनले सरकारलाई आग्रह गरे ।पर्यटन क्षेत्रलाई विदेशी मुद्रा आर्जनको मुख्य आधार मानिए पनि यसको वास्तविक लाभ र स्थानीय उत्पादनको योगदानबारे गम्भीर समीक्षा हुनुपर्नेमा उनले जोड दिए।

    images

    १० लाख पर्यटकको मानसिकताबाट माथि उठेर वार्षिक २० लाखभन्दा बढी पर्यटक भित्र्याउन पूर्वाधार र हवाई कनेक्टिभिटी मुख्य चुनौती रहेको उनको तर्क छ।यसै सन्दर्भमा उनले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको सुधारका लागि रणनीतिक साझेदार भित्र्याउन वा निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्नुपर्ने सुझाव दिए।

    अध्यक्ष श्रेष्ठले भने, ‘मन्त्रालयहरूले एक हप्ताभित्र सुझाव दिन दबाब दिने गरेका छन्, जसले गर्दा विस्तृत छलफल हुन पाउँदैन । देशको अर्थतन्त्रमा ८१ प्रतिशत योगदान पुर्‍याउने निजी क्षेत्रको आवाजलाई औपचारिकतामा मात्र सीमित राख्नु गलत हो । पूर्वाधार बनिसकेपछि मात्र बजार खोज्ने परिपाटीले समस्या ल्याएको छ । अन्तर्राष्ट्रिय विमानस्थलहरूको व्यावसायिक सञ्चालनका लागि निजी क्षेत्र पनि सरकारसँग सहकार्य गर्न तयार छ । बजेटमा घोषणा गरिएका विद्युत् महसुल छुट जस्ता सुविधाहरू कार्यान्वयन नहुँदा सरकार र राज्यका निकायप्रतिको विश्वसनीयता घट्दै गएको छ।’

    पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको प्रसङ्गमा बोल्दै अध्यक्ष श्रेष्ठले पूर्वाधार निर्माण हुनुअघि नै बजार प्रवर्द्धन (मार्केटिङ) सुरु गर्नुपर्नेमा राज्य चुकेको टिप्पणी गरे।हवाई सेवामा लगाइएको भ्याटका कारण पर्यटन क्षेत्रमा समस्या परेको उल्लेख गर्दै उहाँले औद्योगिक व्यवसाय ऐनले दिएका सुविधाहरू कार्यान्वयन नहुनु दुःखद् भएको बताए।

    अध्यक्ष श्रेष्ठले अबको युग डिजिटल प्रविधिको भएको चर्चा गर्दै पर्यटन प्रवर्द्धनका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र डिजिटल मार्केटिङलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार