Nov 03 2026 | २०८३ कार्तिक १८ गते

आफूखुशी संवैधानिक इजलास गठनप्रति बार अध्यक्ष मिश्रको आपत्ति

आफूखुशी संवैधानिक इजलास गठनप्रति बार अध्यक्ष मिश्रको आपत्ति

शुक्रवार, श्रावण २९ २०८३
  • काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सर्वोच्च अदालतमा संवैधानिक इजलास गठन प्रक्रियाप्रति आपत्ति जनाएका छन्।शुक्रबार बारमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो आपत्ति जनाएका हुन्। अध्यक्ष मिश्रले संवैधानिक इजलास वरिष्ठताका आधारमा वा गोलाप्रथाबाट गठन हुनुपर्नेमा प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माले आफूखुसी संवैधानिक इजलास गठन गर्ने गरेको आरोप लगाए।

    उनले वरिष्ठता मिचेर प्रधान न्यायाधीश नियुक्त गर्ने र प्रधान न्यायाधीशले आफूखुसी संवैधानिक इजलास गठन गरी निश्चित मुद्दा उक्त इजलासमा पठाउने कुरामा बार चुप लागेर नबस्ने चेतावनी समेत दिए।उनले यस विषयमा प्रधान न्यायाधीश शर्माको  ध्यानाकर्षण गराइसकेको समेत जानकारी दिए । उनले स्वतन्त्र, स्वच्छ र सरकारका कामलाई नियन्त्रण गर्ने तथा कानुनबमोजिम न्याय सम्पादन गर्न सक्ने सक्षम न्यायपालिका नै बारको चाहना रहेको बताए । उनले न्यायपालिकामाथि कार्यपालिकाको हस्तक्षेप बढ्दै गएको टिप्पणी समेत गरे।

    images

    उनले भने, ‘अहिले न्यायपालिकामा एकपछि अर्को विवाद थपिँदै गएको छ । संवैधानिक इजलास कि त वरिष्ठता कि त गोलाबाट तय हुनुपर्छ भन्ने हाम्रो आधिकारिक मान्यता हो । अब प्रधान न्यायाधीशले निश्चित मुद्दाहरू पनि टिप्पणी उठाएर संवैधानिक इजलासमा पुर्‍याउने काम प्रारम्भ गर्नुभएको कुरा पनि समाचारमा आएको छ । वरिष्ठता मिचेर प्रधानन्यायाधीश नियुक्त गर्ने, अनि प्रधानन्यायाधीशले आफूखुसी संवैधानिक इजलास गठन गर्ने र संवैधानिक इजलासमा समेत निश्चित मुद्दाहरूमा राख्ने भएपछि अब बार चुप लागेर बस्दैन भन्ने तपाईंहरुले बुझिसक्नुभयो होला । हामीले यो विषयमा प्रधानन्यायाधीशको ध्यानाकर्षण समेत मगाएका छौँ । अब यसलाई लिपिबद्ध गर्ने हो कि भनेर बारमा छलफल समेत चलिरहेको छ । न्यायपालिकामा व्यक्तिहरू आउँछन्, जान्छन् । हामी बारका वकिलहरू पनि आउँछौँ, जान्छौँ । हिजो यहाँ बसेर भाषण गर्नेहरू समेत अहिले यहाँ जीवित हुनुहुन्न । नहुनेको सूची लामै छ । तर मुख्य कुरा भनेको स्वतन्त्र र स्वच्छ न्यायपालिका र सरकारभन्दा पृथक् न्यायपालिका र सरकारका कामको नियन्त्रण र कानुन बमोजिम गर्नसक्ने न्यायपालिका हाम्रो चाहाना हो।’उनले न्यायपालिकामा एकपछि अर्को विवाद थपिँदै गएको भन्दै चिन्ता समेत व्यक्त गरे।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार