Nov 03 2026 | २०८३ कार्तिक १८ गते

बैंकका कर्मचारीले नै गरे आर्थिक घोटाला, कोर बैंकिङमा छिरेर ३३ करोड गायव

बैंकका कर्मचारीले नै गरे आर्थिक घोटाला, कोर बैंकिङमा छिरेर ३३ करोड गायव

शुक्रवार, श्रावण २९ २०८३
  • काठमाडौं । घटना २०७१ साल असोजतिरको हो । कृषि विकास बैंक, स्वयम्भू शाखाका दिनहरू अरू बेलाजस्तै सामान्य गतिमा चलिरहेका थिए । सेवाग्राहीको आवतजावत, काउन्टरमा बज्ने क्यास काउन्टर मेसिनको आवाज र कर्मचारीहरूको दैनिकीमा कुनै भिन्नता थिएन । तर, त्यहाँ कसैलाई पत्तो थिएन- यही बैंकको एउटा कुनामा रहेको कम्प्युटर स्क्रिनभित्र नेपालको वित्तीय इतिहासकै ठूलो र चलाखीपूर्ण अपराधको खाका कोरिसकिएको छ।

    केही महिनाको छोटो अवधिमै बैंकको प्रणालीभित्रै बसेर सुटुक्क ३३ करोड ९३ लाख ३९ हजार ८७२ रुपैयाँ गायब पारियो । यो केवल रकम घोटाला वा साधारण चोरीको विषय मात्र थिएन, यो त एउटा विश्वासघात, नक्कली नागरिकताको प्रयोग, आधुनिक सूचना प्रविधिको दुरुपयोग र भारतको सिल्लीगुडीसम्म जेलिएको एउटा हाइ-प्रोफाइल वित्तीय अपराधको रहस्यमयी सञ्जाल थियो।

    images

    यसरी बुनियो अपराधको योजना

    यो सम्पूर्ण काण्डका मुख्य सूत्रधार थिए कृषि विकास बैंक स्वयम्भू शाखाका तत्कालीन शाखा अधिकृत केदारप्रसाद गौतम । गौतम बैंकका एक अनुभवी कर्मचारी भए पनि उनी व्यक्तिगत जीवनमा गम्भीर आर्थिक संकटसँग जुधिरहेका थिए । जग्गा कारोबारमा परेको ठूलो नोक्सानी र त्यसपछि टाउकोमा थुप्रिएको ऋणको बोझले उनलाई विचलित बनाएको थियो।

    आर्थिक सङ्कटबाट उम्किने सहज र द्रुत बाटो खोज्ने क्रममा उनको भेट भारतमा नेटवर्किङ व्यवसाय र अन्य संदिग्ध गतिविधिमा संलग्न राजीव थापा उर्फ कृष्णहरि थापासँग भयो।दुवैबीच काठमाडौंका विभिन्न स्थानमा भेटघाट र गहन छलफल भयो । अन्ततः उनीहरूले बैंकको प्रविधिभित्र रहेको छिद्रको फाइदा उठाउँदै करोडौं रकम लुट्ने र सो रकम पचाएर सुरक्षित रूपमा भारत भाग्ने खतरनाक योजना तयार पारे। योजना अनुसार लुटिएको रकमको ३३÷३३ प्रतिशत रकम केदारप्रसाद गौतम र राजीव थापाले बाँड्ने सहमति भयो।

    बाँकी रहेको ३३ प्रतिशत रकम भने नक्कली खाता खोल्ने, रकम निकाल्ने बिचौलियाहरूलाई कमिसन दिने र अन्य प्राविधिक खर्चहरूमा प्रयोग गर्ने तय गरियो।योजना कार्यान्वयन गर्न गौतमले सबैभन्दा पहिले आफ्नै सहकर्मीको विश्वासमाथि प्रहार गरे । स्वयम्भू शाखामै कार्यरत महिला लेखापाल गीता पन्त काममा व्यस्त रहेका बेला वा उनी सिटबाट उठेको मौका छोपेर गौतमले सुटुक्क उनको कम्प्युटरको ‘युजर आईडी’ र ‘पासवर्ड’ पत्ता लगाए । त्यसपछि सुरु भयो कोर बैंकिङ प्रणालीसँगको खतरनाक खेल।

    गौतमले दिनभरिको नियमित काम सकिएपछि वा साँझपख कार्यालय सुनसान हुने समय रोज्थे । उनले लेखापाल गीता पन्तको पासवर्ड प्रयोग गरी देशका विभिन्न साना र दुर्गम शाखाहरूबाट स्वयम्भू शाखामा ठूलो परिमाणको रेमिट्यान्स रकम आएको भन्दै प्रणालीमा नक्कली विवरण प्रविष्ट गराउँथे । लगत्तै, सो रकमलाई आफ्नै आधिकारिक ‘युजर आईडी’ बाट स्वीकृत गरिदिन्थे।

    बैंकका अन्य हाकिम र कर्मचारीहरू कार्यालय समय सकिएर घर फर्किसकेपछि गौतम भने मध्यरातिसम्म बैंकभित्रै बसेर यो गैरकानुनी ‘डिजिटल’ लुट मच्चाइरहेका हुन्थ्ये।

    नक्कली नागरिकता, ट्याक्सी र ’काउन्टर’ बाटै करोडौंको भुक्तानी

    स्वयम्भू शाखाको प्रणालीमा रकम जम्मा देखिइसकेपछि त्यसलाई नगदमा रूपान्तरण गर्नु अर्को ठूलो चुनौती थियो । सोझै स्वयम्भू शाखाबाटै ठूलो रकम निकालिँदा अन्य कर्मचारीलाई शंका हुने डर थियो । त्यसैले गौतम र थापाको समूहले सो नक्कली रकमलाई पुतलीसडक, न्यूरोड, रत्नपार्क, मङ्गलबजार र सातदोबाटो जस्ता व्यस्त शाखाहरूमा खोलिएका खाताहरूमा ट्रान्सफर गरे।

    रकम निकाल्नका लागि राजीव थापाले गिरोहका अन्य सदस्यहरू प्रयोग गरी नक्कली नागरिकताका आधारमा सरोज यादव, रणजित भट्टराई, नवनिधान गुरुङ र बलराम के.सी. को नाममा खाता खोलेका थिए । यति मात्र होइन, भारतको सिक्किमबाट काठमाडौं बोलाइएका सूर्यबहादुर लिम्बू लाई ‘बसन्त राई’ को नक्कली नागरिकता र फोटो टाँसेर खाता खोल्न लगाइयो। बिचौलियाहरूले यी व्यक्तिहरूलाई ट्याक्सीमा राखेर बैंकसम्म पु¥याउने, ट्याक्सीभित्रै चेकबुकमा सही गराउने र काउन्टरबाट करोडौं रुपैयाँ नगद बुझ्न लगाउने गर्दथे।

    ‘मलाई कुल रकमको १२ प्रतिशत रकम दिने प्रलोभन देखाइएको थियो । बैंक नजिकै ट्याक्सी रोकेर मलाई चेक र नक्कली नागरिकता दिएर भित्र पठाइन्थ्यो । म रकम निकालेर बाहिर ल्याएर उनीहरूलाई बुझाउँथे,’ पछाडि पक्राउ परेका आरोपी सूर्यबहादुर लिम्बूले प्रहरी बयानका क्रममा खुलाएका छन्।

    नगद भुक्तानीका अलावा उनीहरूले सिभिल बैंक, माछापुच्छ्रे बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमार्फत इलेक्ट्रोनिक चेक क्लियरिङ  प्रणालीको समेत दुरुपयोग गरी करोडौं रकम अन्यत्र स्थानान्तरण गरेका थिए।

    एउटा सानो गल्तीले ‘महाघोटाला’ को भण्डाफोर

    महिनौंसम्म निर्वाध रूपमा चलेको यो वित्तीय अपराधको पर्दाफास भने एउटा सानो प्राविधिक गल्तीका कारण हुन पुग्यो । २०७२ असार ७ गते साँझ ६ बजेतिर केदारप्रसाद गौतमले सरोज यादवको खाताबाट अर्को खातामा १० लाख रुपैयाँ ट्रान्सफर गर्न गीता पन्तको आईडीबाट इनपुट त गरे, तर हतारमा वा ध्यान नगेर आफ्नै आईडीबाट त्यसलाई स्वीकृत अथोराइज गर्न छुटाए।

    त्यो १० लाख रुपैयाँ प्रणालीमा पेण्डिङ भएर बसिरह्यो । भोलिपल्ट असार ८ गते बिहान १० बजे लेखापाल गीता पन्त कार्यालय आएर आफ्नो प्रणाली खोलिन् । उनलाई देख्नासाथ शाखाका अन्य वरिष्ठ अधिकारीहरूले सोधे– ‘अघिल्लो साँझ १० लाख रुपैयाँको फन्ड ट्रान्सफर किन पेन्डिङ राखेको?’

    पन्त छाँगाबाट खसेजस्तै भइन् । किनकि उनले अघिल्लो दिन त्यस्तो कुनै पनि कारोबार गरेकी थिइनन् । शंका लागेर भौचर र चेक खोज्दा केही पनि भेटिएन । त्यसपछि बैंकको मुख्य प्रणालीभित्र छिरेर गहिरोसँग अनुसन्धान गर्दा पन्तको पासवर्डबाट दर्जनौं नक्कली रेमिट्यान्स इन्ट्रीहरू भएका र ती सबैलाई अधिकृत गौतमले स्वीकृत गरेको सनसनीपूर्ण तथ्य बाहिर आयो।

    घटनाको गम्भीरतालाई बुझेर तत्कालीन शाखा प्रबन्धक भरतबहादुर बानियाँ र बैंकका वरिष्ठ अधिकारीहरूले तत्काल मुख्य कार्यालय, नेपाल राष्ट्र बैंक र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा खबर गरेपछि स्वयम्भू काण्डको रहस्य औपचारिक रूपमा बाहिर आएको हो।

    नक्कली नाम दोस्रो विवाह र असीमित फजुल खर्च

    बैंकमा छानबिन सुरु भएको पत्तो पाउँनासाथ केदारप्रसाद गौतम रातारात फरार भए । उनीसँगै बैंकबाट गैरकानुनी रूपमा निकालिएको करोडौं रकम हुन्डीका विभिन्न सञ्जालमार्फत भारतको सिल्लीगुडीतर्फ पठाइयो।गौतमको व्यक्तिगत जीवन पनि कुनै फिल्मी कथाभन्दा कम रहेन । नेपाल र भारतीय प्रहरीको नजरबाट बच्न उनले आफ्नो पुरानो पहिचान पूर्ण रूपमा लुकाए । उनले भारतको दार्जिलिङ र सिल्लीगुडी पुगेर ‘प्रेम शर्मा’ को नक्कली नाममा भारतीय नागरिकता, आधार कार्ड र ड्राइभिङ लाइसेन्स समेत बनाए।

    काठमाडौंमा रहेकी जेठी श्रीमती (सम्झना पोखरेल) र छोरालाई बेवास्ता गर्दै उनले काठमाडौंमै भेटिएकी जेनी श्रेष्ठ नामकी युवतीसँग दोस्रो विवाह गरे र सिल्लीगुडीमा एउटा भव्य फ्ल्याट भाडामा लिएर बस्न थाले।अनुसन्धानका क्रममा नेपालमा रहँदा गौतम र उनी सम्बद्ध गिरोहले लुटेको पैसा अत्यन्तै विलासी र फजुल काममा उडाएको अनुसन्धानबाट खुल्यो । उनले सो रकमलाई साथीभाइ र बिचौलियाहरूलाई बोलाएर हवाईजहाजमा यात्रा गराउने, महँगा रिसोर्टमा बस्ने र तडकभडकपूर्ण पार्टी दिने, आफन्त, नातागोता र चिनेजानेकाहरूलाई उदारताका साथ लाखौं रुपैयाँ ऋण र सापटी बाँड्ने गरेको अभियोगपत्रमा उल्लेख छ।

    यस्तै, उनले काठमाडौंका नामी सुन पसलहरूबाट बिना हिचकिचाहट लाखौं मूल्यका सुन तथा बहुमूल्य गहना खरिद गर्ने गरेको अनुसन्धानबाट खुलेको छ।बैंकको नियमअनुसार हरेक दिनको कारोबार सोही दिन साँझ मिलान  हुनुपर्छ । तर, स्वयम्भू शाखामा महिनौँसम्म करोडौँको नक्कली कारोबार भइरहँदा पनि क्षेत्रीय कार्यालय र मुख्य कार्यालयले कुनै सोधपुछ वा अनुगमन नगरेको अभियोगपत्रमा उल्लेख छ।

    बैंकिङ प्रणालीको दुरुपयोग गरी, नक्कली कागजात खडा गरेर बैंकलाई सोझै ३३ करोड ८२ लाखभन्दा बढी नोक्सानी पु¥याएको ठहर गर्दै नेपाल सरकारका तर्फबाट उच्च अदालत पाटन, वाणिज्य इजलासमा बैंकिङ कसूर तथा सजाय ऐन अनुसार पुरक अभियोगपत्र दायर गरिएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार