Nov 03 2026 | २०८३ कार्तिक १८ गते

गण्डकीमा सवारी दुर्घटना र मृत्युदर बढ्यो

गण्डकीमा सवारी दुर्घटना र मृत्युदर बढ्यो

शुक्रवार, श्रावण २९ २०८३
  • काठमाडौँ । गण्डकी प्रदेशमा सवारी दुर्घटना र त्यस क्रममा हुने मृत्युदर बढेको छ । ट्राफिक प्रहरी कार्यालय गण्डकीका अनुसार आर्थिक वर्ष २०८१/०८२ को तुलनामा २०८२/०८३ मा झन्डै १४ प्रतिशतका दरले दुर्घटना र करिब ७ प्रतिशतले मृत्युदरमा वृद्धि भएको छ।

    आर्थिक वर्ष २०८२/०८३ मा ४३५ दुर्घटना हुँदा २५२ जनाको मृत्यु भएको छ । यस्तै ३४७ जना गम्भीर घाइते भएका छन् भने १७९ जना सामान्य घाइते भए।आर्थिक वर्ष २०८१/०८२ मा ३८२ वटा दुर्घटनामा २३७ जनाको मृत्यु भएको थियो। यो वर्ष ३०८ जना गम्भीर घाइते हुँदा २२३ जना सामान्य घाइते भए।

    images

    यस्तै आर्थिक वर्ष २०८०/०८१ म ३९५ दुर्घटना हुँदा १७७ जनाले ज्यान गुमाएका थिए भने ३१२ जना गम्भीर घाइते र २५२ जना सामान्य घाइते भए।जिल्लागत रूपमा हेर्दा सबैभन्दा बढी कास्की र नवलपुरमा दुर्घटना भएका छन्। आर्थिक वर्ष २०८२/०८३ मा नवलपुरमा ११८ र कास्कीमा ११५ वटा दुर्घटना रेकर्ड गरिएका छन्।

    तनहुँमा ७८, गोरखामा २५ र पर्वतमा २० वटा दुर्घटना भएका छन् । सो वर्ष सबैभन्दा कम मनाङमा २ र मुस्ताङमा ६ वटामात्र दुर्घटना भएका छन्।दुर्घटनामा सबैभन्दा बढी मोटरसाइकल र स्कुटर पर्ने गरेका छन् । पछिल्लो वर्ष ३०७ वटा दुई पाङ्ग्रे सवारी दुर्घटनामा परेका छन् । यसैगरी जिप/कार १०५ वटा, ट्रक/ट्याङ्कर ४८ वटा र बस ३९ वटा दुर्घटना भएका छन् । प्रहरीको तथ्याङ्क अनुसार अधिकांश सवारी दुर्घटना चालककै लापरबाहीका कारण हुने गरेको छ । कुल दुर्घटनामध्ये ३६२ वटा दुर्घटना चालकको कारणले भएका ट्राफिक प्रहरी कार्यालय गण्डकीका प्रमुख एसपी गोविन्दराज काफ्लेले जानकारी दिए।

    चालकको कारणले भएका दुर्घटनामध्ये २३५ वटा तीव्र गतिका कारण भएका छन् भने मादक पदार्थ सेवन गरेका कारण ६० वटा दुर्घटना भएका छन् । यसबाहेक सडकको अवस्थाका कारण २६, सवारी साधनको यान्त्रिक गडबडीका कारण २२ र सडक प्रयोगकर्ताको त्रुटिका कारण १६ वटा दुर्घटना भएका छन्।

    गण्डकी प्रदेशभर हाल कुल १२ हजार ९२१ किलोमिटर सडक सञ्जाल छ भने ३ लाख ६७ हजार ८५५ वटा सवारी साधन दर्ता भएका छन् । गण्डकीमा दर्ता नभएका सवारी साधन पनि यहाँका सडकमा गुड्छन् । ट्राफिकको दरबन्दी पर्याप्त नभएका कारण सबै दुर्घटनाहरू रेकर्डमा ल्याउन समस्या परेको एसपी काफ्लेले सुनाए।

    ‘एक जना ट्राफिक प्रहरीले औसत ६ हजार ९८७ नागरिक, १ हजार ८२ वटा सवारी साधन र ३७ किलोमिटर सडक व्यवस्थापन गर्नुपर्ने चुनौती छ,’ उनले भने, ‘चापको हिसाबले यो सास्तीपूर्ण हो।’

    दुर्घटनाहरू दिनमा भन्दा बढी रातमा हुने गरेका कारणले चुनौती थपिएको छ । दिनभरिको तुलनामा साँझ ६ बजेदेखि राति १२ बजेसम्मको समयमा सबैभन्दा बढी दुर्घटना भएका छन् । तथ्याङ्कको विश्लेषण गर्दा यो अवधिमा मात्रै पूरा दुर्घटनाको झन्डै ४१ प्रतिशत हिस्सा ओगट्छ । पछिल्लो वर्ष १७८ वटा दुर्घटना साँझको ६ बजेदेखि राति १२ बजेको अवधिमा भएको छ।

    ‘रात छिप्पिँदै गएपछि भिजिबिलिटी घट्दै जान्छ । रातको समयमा गाडी तुलनात्मक रूपमा तीव्र र लापरबाही पूर्ण हिसाबले चलाउने गरिएको छ,’ एसपी काफ्लेले भने, ‘चालकको अनिन्द्रा र पर्याप्त सडक बत्ती नहुनु पनि दुर्घटनाको प्रमुख कारण हो।’

    कतिपय अवस्थामा सडक प्रयोगकर्तालाई चालकले सहजै देख्न पनि सक्दैनन् । उमेरका हिसाबले पनि सबैभन्दा बढी युवा उमेर सडक दुर्घटनाले नास पारेको छ । २६ देखि ४० वर्ष उमेर समूहका ७८ जनाले दुर्घटनाबाट एकै वर्ष ज्यान गुमाए भने १९१ जना घाइते भए । युवा समूह दुर्घटनाको उच्च जोखिममा रहेको प्रहरीको ट्र्याकिङले देखाएको छ। यस्तै, ४१ देखि ६५ उमेर समूहका पनि ७६ जनाले ज्यान गुमाएका छन् भने १३० जना घाइते भएका छन्।

    १७ देखि २५ वर्ष उमेर समूहका ४७ जनाको ज्यान गएको छ भने १३८ जना घाइते भएका छन् । तुलनात्मक रूपमा ६६ वर्षभन्दा माथि र १६ वर्षभन्दा कम उमेरकाहरुमा दुर्घटनाबाट हुने क्षति कम देखिएको छ । ६६ वर्षमाथिका ३१ जनाको ज्यान गएको छ भने १६ वर्षभन्दा कम उमेरका २० जनाको ज्यान सवारी दुर्घटनाबाट गुमेको छ । यसलाई न्यूनीकरण गर्न सडकको स्तरोन्नतिसँगै पैदलयात्रीमैत्री पूर्वाधार र प्रविधिमा बढी जोड दिनुपर्ने काफ्लेको सुझाव छ।

    ट्राफिक नियम उल्लङ्घन गर्नेहरू पनि बढ्दो क्रममै छन् । गत वर्षको ११ महिनामा १ लाख ६० हजार ७९४ वटा सवारीलाई कारबाही गरिएको छ । यसबाट १४ करोड ३ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ।

    सबैभन्दा बढी कारबाही क्षमताभन्दा बढी यात्री बोक्ने र तीव्र गतिमा चलाउने सवारी साधनलाई कारबाही गरिएको छ। प्रहरीले जनचेतना अभिवृद्धिका काम गरिरहेको त छ तर, पर्याप्त नभएको उनले सुनाए । मुख्य सडकहरूमा स्मार्ट एएनपीआर (नम्बर प्लेट पहिचान गर्ने प्रणाली), सिसीक्यामेरा विस्तार र राजमार्गमा स्मार्ट रिफ्रेस सेण्टर स्थापना गरिदिन सरकार समक्ष उनले सुझाव दिएका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार