काठमाडौँ । उद्यमशीलता विकास, नवप्रवर्तन प्रवर्द्धन, सीप विकास तथा उद्योग–शैक्षिक सहकार्यलाई संस्थागत रूपमा सुदृढ बनाउने उद्देश्यसहित नेपाल चेम्बर अफ कमर्स र बागमती विश्वविद्यालयबिच पाँच वर्षे समझदारीपत्रमा हस्ताक्षर भएको छ।
समझदारीपत्रमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल र बागमती विश्वविद्यालयका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले हस्ताक्षर गरेका हुन्।
यस समझदारीमार्फत दुवै संस्थाले शैक्षिक क्षेत्र, उद्योग, स्टार्टअप, लगानी समुदाय तथा नीतिनिर्माताबिच समन्वयात्मक वातावरण निर्माण गर्दै दीर्घकालीन सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सम्झौताअनुसार विशेष तालिम तथा कार्यकारी शिक्षा कार्यक्रम सञ्चालन, क्षमता अभिवृद्धि, स्टार्टअप तथा नवप्रवर्तन प्रवर्द्धन, लगानी प्रोत्साहन, रणनीतिक नेटवर्किङ, अनुसन्धान तथा नीतिगत अध्ययन, ज्ञान आदानप्रदान र भविष्यकेन्द्रित शैक्षिक कार्यक्रम विकासका क्षेत्रमा संयुक्त रूपमा काम गरिनेछ।
नेपाल चेम्बर अफ कमर्सले आफ्ना सदस्य तथा सरोकारवालाको तालिम आवश्यकता पहिचान गर्ने र बागमती विश्वविद्यालयका विद्यार्थीका लागि इन्टर्नसिप तथा रोजगारी सहयोग केन्द्र स्थापना गर्न सहयोग पुर्याउनेछ। साथै अनुसन्धान कोष तथा छात्रवृत्ति सहयोग कार्यक्रम स्थापना गर्ने र उद्योग जगत्का अनुभवी व्यावसायिक नेतृत्वलाई अतिथि वक्ताका रूपमा विश्वविद्यालयसँग जोड्ने व्यवस्था मिलाइनेछ।
त्यसैगरी बागमती विश्वविद्यालयले शैक्षिक विशेषज्ञता उपलब्ध गराउने, तालिम तथा कार्यकारी शिक्षा कार्यक्रम सञ्चालन गर्ने, स्टार्टअप र नवप्रवर्तनका लागि परामर्श प्रदान गर्ने तथा सेमिनार, नीति संवाद र सम्मेलनहरू आयोजना गर्ने प्रतिबद्धता जनाएको छ। समझदारीपत्र हस्ताक्षर भएको मितिदेखि पाँच वर्षसम्म लागू रहनेछ भने दुवै पक्षको सहमतिमा अवधि थप गर्न सकिनेछ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले आजको आवश्यकता अनुरूप विश्वविद्यालयहरूले परम्परागत शिक्षा प्रणालीभन्दा बाहिर निस्किएर उद्यमशीलतामा केन्द्रित हुनुपर्नेमा जोड दिए।



