काठमाडौँ । आगामी पाँच वर्षभित्र शतप्रतिशत नागरिकलाई स्वच्छ तथा गुणस्तरीय खानेपानी उपलब्ध गराउने सरकारको लक्ष्य रहेको पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले बताएका छन्।बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले यस्तो जानकारी दिएका हुन्।
सचिव सिग्देलका अनुसार खानेपानीको कभरेज देशभरका करिब ९७ प्रतिशत नागरिकसम्म पुगे पनि प्रसोधित अर्थात् स्वच्छ खानेपानीको पहुँच भने ३० प्रतिशत नागरिकमा मात्र सीमित छ। सरकारको नीति तथा कार्यक्रम र बजेटमार्फत आगामी पाँच वर्षभित्र सबै नागरिकलाई गुणस्तरीय खानेपानीको पहुँचमा पुर्याउने लक्ष्यका साथ काम भइरहेको उनले स्पष्ट पारे। यो लक्ष्य पूरा गर्न तीनवटै तहका सरकारले कार्ययोजना बनाएर कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए।
पानीका मुहान सुक्दै गएको समस्या समाधानका लागि हिमनदीको पानी सिधै तराईसम्म पुर्याउने आयोजनालाई प्राथमिकतामा राखिएको सचिव सिग्देलले बताए।बैठकमा बोल्दै सचिव सिग्देलले भने, ‘अहिलेसम्म देशभरका करिब ९७ प्रतिशत नागरिकसम्म खानेपानीको कभरेज पुगेको छ तर स्वच्छ खानेपानीको पहुँच ३० प्रतिशतसम्म मात्र छ। अबको पाँच वर्षभित्र शतप्रतिशत नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउने लक्ष्यका साथ हामीले काम गरिरहेका छौँ।’
आयोजना र तीन तहको सहकार्यबारे थप्दै उनले भने, ‘यसका लागि प्रदेश र स्थानीय तहलाई संघ सरकारले सशर्त अनुदान दिनेछ। दिगो विकास लक्ष्य (एसडिजी) पनि यसैभित्र पर्छ। पानीका मुहान सुकेकाले हिमनदीको पानी सिधै तराईमा पुर्याउन सकिए समस्या सधैँका लागि समाधान हुन्छ। त्यसपछि भूगर्भीय पानी तान्नु पनि पर्दैन र सस्तो पनि पर्ने भएकाले डाइभर्सन आयोजनामा खानेपानीलाई सँगसँगै राखिएको छ।’सरकारको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा आगामी तीन वर्षमा ६५ प्रतिशत र पाँच वर्षभित्र शतप्रतिशत नागरिकलाई सुरक्षित तथा स्वच्छ खानेपानी सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ।



