Nov 03 2026 | २०८३ कार्तिक १८ गते

सेनाले निर्माण गरिरहेका कुन आयोजनाको कस्तो छ प्रगति ?

सेनाले निर्माण गरिरहेका कुन आयोजनाको कस्तो छ प्रगति ?

बिहिवार, श्रावण २८ २०८३
  • काठमाडौँ । मुलुकको राष्ट्रिय सुरक्षाको प्रमुख जिम्मेवारीसँगै जटिल भौगोलिक क्षेत्रमा सडक निर्माणको कार्यदक्षता देखाउँदै आएको नेपाली सेनाको जिम्मामा रहेका विकास आयोजनाहरूको प्रगति सुस्त देखिएको छ । विशेष गरी राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माण सुरु भएको ९ वर्ष बितिसक्दा पनि भौतिक प्रगति ५० प्रतिशत पुग्न सकेको छैन भने अन्य रणनीतिक सडकहरूको अवस्था पनि सन्तोषजनक छैन।

    सेनाले सार्वजनिक गरेको पछिल्लो प्रगति प्रतिवेदनले समयमै काम सम्पन्न नहुँदा आयोजनाहरूको लागत बढ्दै गएको र सेनाको कार्यक्षमतामाथि नै प्रश्न खडा गरिदिएको देखाएको छ।विशेष गरी मुलुककै ‘लाइफलाइन’ मानिएको काठमाडौँ–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) र अन्य रणनीतिक सडकहरूको प्रगति अपेक्षाभन्दा निकै ढिलो देखिएको छ । सेनाले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्मको प्रगति प्रतिवेदन अनुसार, द्रुतमार्गको समष्टिगत भौतिक प्रगति मात्र ४८.७२ प्रतिशत मात्रै पुगेको छ।

    images

    ९ वर्षमा फास्ट ट्र्याक ४८ प्रतिशत मात्रै

    चार वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी भौतिक पूर्वाधार मन्त्रालयले २०७४ साउन २७ गते औपचारिक रूपमा सेनाले जिम्मा पाएको राष्ट्रिय गौरवको आयोजना ९ वर्ष नाघ्दासम्म ५० प्रतिशत पनि काम सम्पन्न हुन सकेको छैन । सुस्त निर्माण भइरहेको यो आयोजना समयमा निर्माण सम्पन्न नहुँदा लागत बढ्दै गएको छ।

    मुलुकको आर्थिक विकासको मेरुदण्ड मानिएको ७२.५ किलोमिटर लामो यो आयोजनाको समष्टिगत भौतिक प्रगति हालसम्म ४८.७२ प्रतिशत मात्र पुगेको छ । सुरु अनुमानभन्दा यसको लागत झन्डै तेब्बरले बढेर २ खर्ब ११ अर्ब रुपैयाँ  पुगेको यस आयोजनामा हालसम्म ९२ अर्ब ६८ करोड रुपैयाँ खर्च भइसकेको छ, जुन वित्तीय रूपमा ५०.६३ प्रतिशत हो।

    द्रुतमार्गमा पर्ने ८९ वटा पुलमध्ये ८५ वटाको ठेक्का व्यवस्थापन भई निर्माण भइरहेको छ। जसमध्ये ५७ वटाको जग र ३८ वटाको सब–स्ट्रक्चर तयार भइसकेको छ । १६ वटा पुलको त माथिल्लो भाग (सुपर स्ट्रक्चर) समेत बनिसकेको छ। सडक निर्माणतर्फ १ किलोमिटर कालोपत्रे र ७ किलोमिटर सर्भिस लेनको कालोपत्रे सम्पन्न भएको छ।

    कर्णाली करिडोर कति बन्यो ?

    कर्णाली करिडोर (लालिबगर–दुल्लीकुन्ना, घाटपारीचौर–बद्रीगाउं–भुक्काखोला खण्ड) सडक आयोजना (२२.०५ किलोमिटर). नेपाली सेनाबाट गत आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्म कुल १६ किलोमिटर नयाँ ट्रयाक निर्माण सम्पन्न भएको थियो । चालु आर्थिक वर्ष २०८२/८३ को आषाढ चौथो हप्तासम्म थप १ किलोमिटर ट्रयाक स्तरोन्नतिको कार्य र ०.५ किलोमिटर नयाँ ट्रयाक निर्माण सम्पन्न भई कुल १६.५ किलोमिटर नयाँ ट्रयाक निर्माण सम्पन्न भएको छ । जिम्मेवारी प्राप्त सडकखण्डको कुल २२.०५ किलोमिटर मध्ये सडक विभागद्वारा निर्मित २.५ किलोमिटर सहित जम्मा १९ किलोमिटर नयाँ ट्रयाक निर्माण सम्पन्न भएको छ।

    २०७१ चैत ५ गतेदेखि निर्माण सुरु गरेको सेनाले सो सडकखण्डको निर्माण सम्पन्न भएपछि २०७८ असार ३१ गते हस्तान्तरण गरेको थियो, यस खण्ड निर्माणका लागि एक अर्ब ६५ करोड ५५ लाख रुपैयाँ लागत  छ।

    लार्केभञ्ज्याङ्ग सडकः एक वर्षमा ८ सयमिटर ट्रयाक निर्माण

    ९२ किलोमिटर दूरीको बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ्ग सडक  २०७४ वैशाखदेखि निर्माण सुरु गरेको यो आयोजना सम्पन्न गर्नुपर्ने म्याद ०८६/८७ सम्म छ।

    गत आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्म कुल ४० किलोमिटर नयाँ ट्रयाक निर्माण सम्पन्न भएको थियो । चालु आर्थिक वर्ष २०८२/८३ को आषाढ चौथो हप्तासम्म थप ०.४०० किलोमिटर ट्रयाक स्तरोन्नतिको कार्य र ०.८०० किलोमिटर नयाँ ट्रयाक निर्माण सम्पन्न भई कुल ४०.८ किलोमिटर नयाँ ट्रयाक निर्माण सम्पन्न भएको छ।

    खाँदबारी किमाथांका सडक हस्तान्तरण

    सेनाले पाएको जिम्मेवारीमध्ये उत्तर–दक्षिण कोशी सडकको खाँदबारी–किमाथांका खण्ड (च्याम्ताङ्ग–घोङघप्पा) मा ऐतिहासिक सफलता मिलेको छ । १०.५१ किलोमिटर लम्बाइको यो खण्डको ट्रयाक निर्माण सम्पन्न गरी सेनाले २०८३ वैशाख २८ गते सडक विभागलाई औपचारिक रूपमा हस्तान्तरण गरेको छ। यो आयोजना सम्पन्न हुनुले चीनसँगको व्यापारिक पहुँचमा नयाँ ढोका खोलेको छ।

    सरकारले खाँदबारी–किमाथांका खण्ड २०७७ माघ २४ गते २०८१/८२ भित्र निर्माण सम्पन्न गरिसक्ने गरी सेनालाई हस्तान्तरण गरेको थियो।

    ६ वर्षमा दार्चुला टिंकर १९ किलोमिटर ट्र्याक निर्माण

    ७९ किलोमिटरको दार्चुला टिंकर खण्ड ६ वर्षमा १९.८  किलोमिटर नयाँ ट्रयाक निर्माण सम्पन्न भएको छ । २०७७ साल माघदेखि निर्माण सुरु गरिएको यो सडक खण्डको २०८८/८९ भित्र ट्र्याक खनिसक्नुपर्ने म्याद छ।

    यो आयोजना गत आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्म कुल १७.५ किलोमिटर नयाँ ट्रयाक निर्माण सम्पन्न भएको थियो। चालु आर्थिक वर्ष २०८२/८३ आषाढ चौथो हप्तासम्म थप १.४ किलोमिटर ट्रयाक स्तरोन्नतिको कार्य र २.३ किलोमिटर नयाँ ट्रयाक निर्माण सम्पन्न भई कुल १९.८  किलोमिटर नयाँ ट्रयाक निर्माण सम्पन्न भएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार