काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्युरोले ‘बीभी नेपाल’ नामक अनलाइन मल्टी–लेभल मार्केटिङ (एमएलएम) स्क्यामबारे सर्वसाधारणलाई सचेत गराएको छ । ब्युरोका अनुसार उक्त अनलाइन प्लेटफर्ममार्फत ‘क्याम्पस भेन्डिङ मेसिन एसेट म्यानेजमेन्ट प्रोडक्ड–११० डेज्’ नामक लगानी योजना सञ्चालनमा रहेको छ।
यसले आम नागरिकलाई अस्वाभाविक रूपमा उच्च प्रतिफलको प्रलोभन देखाई अनलाइन स्क्याम गरिरहेको गुनासो तथा जानकारी प्राप्त भएको साइबर ब्युरोले जनाएको छ।
ब्युरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दिलीप कुमार गिरीले ‘बीभी नेपाल’ वा यस्तै प्रकारका अत्यधिक उच्च प्रतिफल दाबी गर्ने कुनै पनि एप्लिकेसन, वेबसाइट वा योजनामा पैसा लगानी नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।यस्तो योजनासँग सम्बन्धित कुनै जानकारी भएमा तत्काल नजिकको प्रहरी कार्यालय वा साइबर ब्युरोमा सम्पर्क गरी उजुरी दर्ता गर्नसमेत प्रहरीले अनुरोध गरेको छ।



