Nov 03 2026 | २०८३ कार्तिक १८ गते

चिकित्सा शिक्षा अभियानको आह्वानमा मेडिकल कलेज अगाडि धर्ना

चिकित्सा शिक्षा अभियानको आह्वानमा मेडिकल कलेज अगाडि धर्ना

बिहिवार, श्रावण २८ २०८३
  • काठमाडौँ । चिकित्सा शिक्षा सङ्घर्ष अभियानको आह्वानमा आजदेखि देशभरका मेडिकल कलेजमा धर्ना दिइएको छ। आवासीय (पिजी) र इन्टर्न चिकित्सकलाई समेत आह्वान गरेर भएको आन्दोलनका कार्यक्रम अन्तर्गत धर्ना दिइएको हो।निजी मेडिकल कलेजहरूले चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको नियमित पारिश्रमिक रोकेको र चिकित्सा शिक्षा क्षेत्रमा माफियाकरण बढेको विरोधमा आन्दोलन गर्नु परेको अभियानको भनाइ छ।

    अभियानले हिजो बुधबार पहिलो चरणको कार्यक्रम अन्तर्गत 'पेनडाउन' गरेको थियो भने आजदेखि देशभरका कलेज अगाडि धर्ना सुरु गरिएको हो । चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा व्याप्त विकृति, विसङ्गति र अनियमितता विरुद्ध अभियानले हिजोदेखि नै देशव्यापी चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । कलेज सञ्चालकहरूले आगामी साझा प्रवेश परीक्षाको पूर्वसन्ध्यामा सिट र शुल्क वृद्धिका लागि राज्यमाथि दबाब दिने कुत्सित मनसायले चिकित्सकहरूको तलब रोकेको र उनीहरूलाई आन्दोलनमा उत्रिन बाध्य पारेको अभियानको ठहर छ।

    images

    अभियानका संयोजक मनिष भट्टराई, प्रवक्ता धनबहादुर तामाङ र महासचिव सौगात पाण्डेद्वारा हस्ताक्षरित विज्ञप्तिमा  अर्बौँको कारोबार गर्ने निजी मेडिकल कलेजहरूले नाफामा हुँदाहुँदै पनि घाटाको अपारदर्शी विवरण देखाएर राज्यलाई झुक्याउने काम गरिरहेको आरोप लगाइएको छ  । एक वर्षे अनिवार्य सेवाका नाममा चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरू अत्यन्त न्यून पारिश्रमिकमा काम गर्न बाध्य भई अस्पतालभित्रै चरम श्रम शोषणको चपेटामा परेको विज्ञप्तिमा जनाइएको छ।

    डा. गोविन्द केसीले चिकित्सा शिक्षा सुधारका लागि उठाएको आवाज सेलाउन नपाउँदै निजी मेडिकल कलेजहरूले आफ्नो शक्ति र प्रभावको आडमा सरकारमाथि गैरकानुनी र अवैज्ञानिक दबाब सिर्जना गर्न खोजेको भन्दै अभियानले आपत्ति जनाएको छ । यस्तो प्रवृत्तिलाई बेलैमा नियन्त्रण गर्न नसकिए नेपालको चिकित्सा शिक्षा झन् धराशायी हुने र माफियाहरूको नियन्त्रणमा जाने खतरा बढेको भन्दै अभियानले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।

    यस आन्दोलनमा देशभरका मेडिकल कलेजमा कार्यरत आवासीय तथा इन्टर्न चिकित्सक, अस्पतालमा कार्यरत मेडिकल अफिसर, स्वास्थ्यकर्मी तथा सम्पूर्ण सरोकारवालाहरूलाई सक्रिय सहभागिताका लागि अपिल गरेको छ। जसअनुसार स्वतस्फूर्तरुपमा  आवासीय (पिजी) र इन्टर्न चिकित्सकहरुको समेत आन्दोलनमा सहभागिता रहेको बताइएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार