काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेश्वरस्थित भित्री सडकखण्डमा ढुङ्गा बोकेको टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।मानेश्वरबाट बाह्रबिसेतर्फ आउँदै गरेको बा.५ ख ४११० नम्बरको ढुङ्गा लोड गरेको टिपर अनियन्त्रित भई पल्टिँदा टिपरमा सवार बाह्रबिसे नगरपालिका–८ का २९ वर्षीय राजु लामाको मृत्यु भएको हाे।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारकै क्रममा मृत्यु भएको हो।टिपर दुर्घटना हुँदा उनले सडक छेउतर्फ हाम फालेका थिए। तर उनले जता फाल हाने उतै टिपर पल्टिँदा च्यापिएर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनालगत्तै इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले लामाको उद्धार गरी उपचारका लागि नगर अस्पताल बाह्रबिसे पठाएको थियो। उपचारकै क्रममा साँझ चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
टिपर काभ्रेको पाँचखाल नगरपालिका–१३ का २५ वर्षीय अनिस पाण्डेले चलाएका थिए।प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणपछि मृतकका बुवा हिराबहादुर तामाङलाई जिम्मा लगाएको छ । दुर्घटनामा संलग्न टिपर चालक पाण्डेलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



