काठमाडौँ । रोल्पाको थबाङ गाउँपालिका ५ बोटलबारा क्षेत्रमा पहिरामा परी बेपत्ता भएका नागरिकको खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निर्देशन दिएका छन्।
अविरल वर्षापछि गएको पहिरामा परी तीन जनाको मृत्यु भएको र नौ जना बेपत्ता रहेको घटनाप्रति दुःख व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन आग्रह गरेका छन्। उनले सुरक्षाकर्मी, स्थानीय प्रशासन, जनप्रतिनिधि, स्थानीय समुदाय तथा स्वयंसेवकलाई एकजुट भएर परिचालन हुन भनेका छन्।
मुख्यमन्त्री आचार्यका अनुसार घटनास्थलमा तीनवटै सुरक्षा निकाय परिचालन भई खोज तथा उद्धार कार्य जारी छ। प्रमुख जिल्ला अधिकारी तथा जिल्लाका सुरक्षा प्रमुखहरू घटनास्थलमै पुगेर समन्वय गरिरहेका छन्। बेपत्ता नागरिकको जीवनरक्षा अहिलेको पहिलो प्राथमिकता भएकाले खोजी कार्यमा कुनै कमी हुन नदिन उनले निर्देशन दिएका हुन्।
खोज तथा उद्धारका लागि आवश्यक उपकरण, जनशक्ति तथा स्रोतसाधन तत्काल व्यवस्थापन गर्न प्रदेश सरकारका सम्बन्धित निकायलाई परिचालन गरिएको मुख्यमन्त्री आचार्यले बताएका छन्। उद्धारमा खटिने जनशक्तिलाई सम्भावित थप पहिरो र अन्य जोखिमलाई ध्यानमा राख्दै आवश्यक सुरक्षा सावधानी अपनाउन पनि उनले आग्रह गरेका छन्।
पहिरोमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै मुख्यमन्त्री आचार्यले शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित स्वास्थ्य संस्थालाई आवश्यक व्यवस्था मिलाउन निर्देशन दिइएको उनले बताएका छन्।
पहिरोबाट प्रभावित परिवारको तत्काल उद्धार, राहत तथा सुरक्षित स्थानमा व्यवस्थापन गर्न स्थानीय तह, जिल्ला प्रशासन र सुरक्षा निकायबिच समन्वय गर्न उनले आग्रह गरेका छन्। खोज तथा उद्धार कार्य सम्पन्न भएपछि प्रभावित परिवारको पुनःस्थापना तथा आवश्यक राहतका कार्यक्रम तत्काल अघि बढाइने उनको भनाइ छ।
वर्षायाममा लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा बाढी, पहिरो तथा डुबानको जोखिम रहेकाले जोखिमयुक्त स्थानमा रहेका नागरिकलाई उच्च सतर्कता अपनाउन मुख्यमन्त्री आचार्यले अपिल गरेका छन्। विपद्को जोखिम वा सूचना प्राप्त हुनासाथ सुरक्षित स्थानमा जान उनले सर्वसाधारणलाई आग्रह गरेका छन्।



