काठमाडौँ । सिंहदरबारस्थित पुतली बगैँचामा निर्माणाधीन सङ्घीय संसद् भवनको निर्माण कार्य सात वर्ष पुग्न लाग्दा पनि सकिएको छैन।२०७९ साल असोजमा सकिनुपर्ने भवन निर्माणको काम ६ पटक म्याद थप गर्दा पनि सकिएको छैन। काम अहिले अन्तिम चरणमा पुगेर सुस्त बनेको छ।
भवन निर्माणका लागि सातौँ पटक म्याद थप गर्न निर्माण व्यवसायीले सहरी विकास तथा भवन निर्माण विभागसमक्ष निवेदन पेस गरेको छ। सबै कागजात प्राप्त नभएकाले म्याद थप भइनसकेको विभागको विशेष भवन निर्माण आयोजना निर्देशक रोशन श्रेष्ठले बताए। उनले भने, ‘म्याद थपका लागि निवेदन आएको छ। म्याद थप भइसकेको अवस्था पनि छैन। इन्स्युरेन्ससहित अरु कागजात पुगेको छैन।’
६ अर्ब ९२ करोड रुपियाँ लगानीमा १५६ रोपनी क्षेत्रफलमा सङ्घीय संसद् भवन निर्माण भइरहेको छ। यहाँ प्रतिनिधिसभा, राष्ट्रिय सभा, अति विशिष्ट व्यक्ति (भीभीआईपी) कक्ष, पुस्तकालय, चमेना गृह, संसदीय दलका कार्यालय र सुरक्षाकर्मीको भवनसहित कुल १२ वटा ठुला भवन तयार हुने छन्। यो कामको ठेक्का तुँदी-सेक जेभीले लिएको थियो।
हालसम्म करिब ९५ प्रतिशत भौतिक प्रगति भएको निर्देशक श्रेष्ठले बताएका छन्। बढीमा डेढ महिनामा सकिने काम बाँकी भए पनि ठेकेदारको गति सुस्त देखिएको उनले सुनाए। छैटौँ पटक थप भएको म्याद गत जेठ पहिलो हप्ता सकिइसकेको छ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनपछि संसदीय गतिविधि यही भवनबाट सञ्चालन गर्ने योजना अनुसार २०७६ मा निर्माण अघि बढेको थियो। २०८२ मा निर्वाचन भएर नयाँ सांसद आइसक्दा पनि संसद् भवन बन्न सकेको छैन।
सिभिलतर्फको काम नसकिँदा आन्तरिक सजावट (इन्टेरियर) को ठेक्का सम्झौता पनि प्रभावित भएको छ। केसी–श्यामसुन्दर–बानियाँ जेभीले २ अर्ब ३४ करोड रुपियाँमा आन्तरिक सजावट, फर्निचर, सूचना प्रविधि, साउन्ड सिस्टम र सम्पूर्ण सफ्टवेयर तथा हार्डवेयरको काम गर्ने गरी ठेक्का लिएको थियो।
२०८० असारमा सम्झौता भएकोमा २०८१ असारमा काम सकिनुपर्ने थियो। भवन निर्माणकै काम नसकिँदा इन्टेरियरको जिम्मा लिएको ठेकेदारको काम पनि प्रभावित भएको छ। यो सम्झौताको प्रगति करिब ५५ प्रतिशत मात्र छ।
भवन बनाउने र इन्टेरियरको काम गर्ने दुवैको म्याद थप गर्नुपर्ने अवस्था रहेको निर्देशक श्रेष्ठले बताएका छन्। उनले भने, ‘दुई वटा काम एकअर्कासँग जोडिएको छ। दुई वटैको म्याद थप गर्नुपर्ने हुन्छ।’ विभागले दुवैको म्याद ६ महिनासम्म थप गर्ने तयारी गरेको छ।२०७६ साल असोज १ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय संसद् भवन निर्माणको शिलान्यास गरेका थिए।



