काठमाडौँ। नेपाली कांग्रेसले सरकारले पारा खेलाडीहरूबाट अन्तर्राष्ट्रिय पदकको ठुलो अपेक्षा राख्ने गरे पनि उनीहरूको प्रशिक्षण र पूर्वाधारमा भने चरम उपेक्षा गरेको बताएको छ।राष्ट्रिय सभाको बुधबारको बैठकमा कांग्रेसका राष्ट्रिय सभाका प्रमुख सचेतक पदमबहादुर परियारले पारा खेलकुद क्षेत्रले भोगिरहेका समस्याहरूको चाङ प्रस्तुत गर्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन्।
बैठकमा बोल्दै परियारले भने, ‘पदक जित्दा पारा खेलाडीलाई राष्ट्रको गौरव भन्ने, तर तिनै खेलाडीले प्रशिक्षण गर्न खोज्दा बजेट छैन, खेल सामग्री छैन, मैदान छैन भन्ने अवस्था कहिलेसम्म रहन्छ ? पदक चाहिन्छ भने पदक उत्पादन गर्ने खेलाडीमा राज्यले लगानी गर्नुपर्दैन?’
उनले सरकारले पारा खेलाडीका लागि प्रशिक्षण, खेल सामग्री, र अपाङ्गतामैत्री पूर्वाधार निर्माणमा पर्याप्त बजेट सुनिश्चित गर्न नसकेको भन्दै प्रश्न उठाए। पारा खेलकुदका लागि वार्षिक रूपमा कति बजेट विनियोजन हुन्छ र त्यसको कति प्रतिशत वास्तविक रूपमा खर्च हुन्छ भन्नेबारे सरकारसँग जवाफ माग गरे।
प्रमुख सचेतक परियारले पारा खेलकुदका लागि छुट्टै र पर्याप्त बजेट नभएको, विनियोजित बजेट पनि समयमै निकासा नभएको अपाङ्गतामैत्री खेल मैदान र पूर्वाधारको अभाव रहेको, ह्वीलचेयर, प्रोस्थेटिक र अन्य आवश्यक सहायक उपकरण खरिदका लागि बजेट सरकारले उपलब्ध नगराएको आरोप लगाए।
दक्ष प्रशिक्षक र फिजियोको लागि नियमित बजेट व्यवस्था नगरेको उनको भनाइ थियो। उनले आगामी आर्थिक वर्षमा पारा खेलाडीको विकासका लागि स्पष्ट योजना र बजेट ल्याउन सरकारलाई आग्रह गर्दै भने, ‘खेलाडीलाई पदक जिताउनुअघि आवश्यक लगानी गर्ने संस्कृतिको विकास गरियोस्,’ उनले भने।



