काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सांसद सुरेश आलेमगरले सरकारले ल्याउन लागेका कतिपय कानुनहरूले सङ्घीयताको मर्ममा प्रहार गरिरहेको भन्दै आपत्ति जनाएका छन् । बुधबारको राष्ट्रियसभा बैठकमा बोल्दै सांसद मगरले खानी तथा खनिज पदार्थ सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयकले स्थानीय तहको अधिकार खोस्न खोजेको बताए।
सांसद मगरले स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले ढुङ्गा, गिट्टी, बालुवा, माटो र स्लेट जस्ता सामग्रीको व्यवस्थापनको अधिकार स्थानीय तहलाई दिएको स्मरण गराए । तर, अहिले सरकारले ल्याउन लागेको नयाँ विधेयकले ती अधिकारहरू कटौती गर्ने र स्थानीय तहको आम्दानीको स्रोत सुकाउने खेल भइरहेको उनको आरोप छ । ‘सङ्घीय व्यवस्थामा स्रोत र अधिकारको बाँडफाँड स्थानीय तहसम्म हुनुपर्छ, तर यो सरकारले स्थानीय तहको अधिकार कटौती गरेर सङ्घीयतामाथि धावा बोल्दैछ,’ उनले भने।
सङ्घीयताले देश टुक्राउँछ भन्ने भ्रम फैलाउन खोजिएको भन्दै उनले त्यसको खण्डन गरे । स्विट्जरल्याण्ड र अमेरिका जस्ता देशहरूको उदाहरण दिँदै आलेले भने, ‘सङ्घीयताले देश टुक्रिँदैन, बरु नेपाल जस्तो विविधतायुक्त मुलुकका लागि यो सबैभन्दा वैज्ञानिक र उपयुक्त व्यवस्था हो।’
सांसद मगरले वर्तमान सरकारको कार्यशैलीलाई एक्सप्रेस गाडीसँग तुलना गर्दै व्यङ्ग्य गरे । उनले भने, ‘लोकल गाडी भन्दा एक्सप्रेस गाडी छिटो पुग्छ, त्यो राम्रो हो । तर यदि त्यो गाडीको चालकले मादक पदार्थ सेवन गरेको छ वा दम्भ र अहङ्कारमा मातेको छ भने दुर्घटना निश्चित छ ।’ उनले सरकारमा बस्नेहरूलाई दम्भ र अहङ्कार त्यागेर संयमित भएर काम गर्न सुझाव दिए।



