काठमाडौँ । ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को दोस्रो दिन बुधबार पनि अवलोकनकर्ताको उल्लेख्य भीड लागेको छ । राजधानीको भृकुटीमण्डपमा मंगलबारदेखि सुरु एक्स्पोमा नयाँ सवारीसाधन तथा प्रविधि अवलोकन गर्न बिहानैदेखि सर्वसाधारणको उपस्थिति बढेको हो।
नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको एक्स्पोको पहिलो दिन मंगलबार मात्रै २९ हजारभन्दा बढीले अवलोकन गरेका थिए । आयोजकले एक्स्पो अवधिभर करिब डेढ लाखले अवलोकन गर्ने अपेक्षा गरेको छ।
एक्स्पोको पहिलो दिन विभिन्न ब्रान्डले ४८ नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरेका थिए । एक्स्पोमा नेपालमा पहिलोपटक प्रवेश गरेका ब्रान्डदेखि बजारमा उपलब्ध ब्रान्डका नयाँ मोडलसम्मका सवारीसाधन प्रदर्शनमा राखिएका छन्।
विशेषगरी विद्युतीय कार, ई–स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधन एक्स्पोका मुख्य आकर्षण बनेका छन् । नयाँ प्रविधि, डिजाइन र सुविधासहितका सवारीसाधनबारे जानकारी लिन तथा मूल्य र विशेषता बुझ्न सर्वसाधारणको चासो देखिएको छ।
नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको एक्स्पो दोस्रो संस्करण हो । ६ दिनसम्म सञ्चालन हुने एक्स्पो साउन ३१ गतेसम्म चल्नेछ।एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता र आयातकर्ताको उल्लेख्य सहभागिता रहेको छ । विभिन्न कम्पनीले आफ्ना नयाँ उत्पादन तथा प्रविधि प्रदर्शनीमा राखेका छन्।
सवारी खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै एक्स्पोमा बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीले समेत सहभागिता जनाएका छन् । उनीहरूले सवारी खरिदका लागि विशेष अफर तथा सहुलियत कर्जालगायतका सुविधा उपलब्ध गराइरहेका छन्।आयोजकका अनुसार एक्स्पोले नयाँ सवारीसाधन तथा प्रविधिबारे जानकारी लिन चाहने उपभोक्ता र सवारीसाधन निर्माता तथा आयातकर्ताबीच प्रत्यक्ष सम्पर्कको अवसरसमेत प्रदान गरेको छ।



