काठमाडौँ । राष्ट्रिय सभाका सदस्यहरूले देशभरिका जनताले ग्यास अभावको समस्या भोग्नुपरेको भन्दै यसबारे सरकारले जवाफ दिनुपर्ने बताएका छन्।
बुधबार बसेको बैठकको शून्य समयमा बोल्दै सांसद कमला पन्तले जनताले ग्यास नपाएको गुनासो गरेको र लामो लाइन समेत देखिएको भन्दै यसबारे सरकारको जवाफ आउनुपर्ने बताइन् । साथै उनले सरकारले ग्यासको समस्या छैन भन्ने तर नागरिकले कहिल्यै नपाउने अवस्थाबारे सरकारलाई रुलिङ गर्न माग गरिन्।
अर्का सांसद तुलप्रसाद विश्वकर्माले पनि ग्यास अभावका कारण नागरिकले ठुलो कष्ट भोग्नुपरेको भन्दै यसमा सरकारले चासो नदिएको बताए । ‘ग्यास समस्या देशभर भएको छ । यसमा सरकारले चासो दिएको समस्या समाधान गरोस्’, विश्वकर्माको भनाइ छ । अर्का सांसद नरबहादुर विष्टले पनि कहिलेसम्म सरकारले ग्यास उपलब्ध गराउने हो भनेर प्रश्न गरे।सांसद नारायणदत्त मिश्रले सुनसरीको देवानगञ्ज घटना निष्पक्ष छानबिनको माग गरे।



