काठमाडौँ । एनसेलले डोमेन दर्ता र व्यावसायिक वेब होस्टिङ सेवा एकै ठाउँबाट उपलब्ध गराउने गरी ‘एनसेल बिजनेस क्लाउडसुइट’ सेवा सुरु गरेको छ।
स्थानीय रूपमा समर्थित यो प्लेटफर्म नेपालभरिका व्यवसाय, स्टार्टअप, उद्यमी, शैक्षिक संस्था तथा विभिन्न सङ्गठनलाई लक्षित गरिएको एनसेलले जनाएको छ । डिजिटल माध्यममा व्यवसायको विस्तार भइरहेका बेला देशभित्रै सहज पहुँच र व्यवस्थापन गर्न सकिने वेब पूर्वाधारको आवश्यकता बढ्दै गएको भन्दै एनसेलले क्लाउडसुइट ल्याएको हो।
एनसेल बिजनेस क्लाउडसुइटमार्फत ग्राहकले एउटै प्लेटफर्मबाट डोमेन दर्ता, वेबसाइट होस्टिङ तथा आफ्नो अनलाइन उपस्थिति व्यवस्थापन गर्न सक्नेछन् । प्लेटफर्ममा डोमेन नवीकरण, ट्रान्सफर सहयोग, डीएनएस व्यवस्थापन, डोमेन फर्वार्डिङ, सबडोमेन म्यानेजमेन्ट तथा केन्द्रीकृत डोमेन एड्मिनिस्ट्रेसनलगायतका सुविधा उपलब्ध छन्।
एनसेलले व्यवसायको आवश्यकता र विकासको चरणअनुसार दुई प्रकारका वेब होस्टिङ प्याकेज ल्याएको छ । मासिक रु. १ हजार पर्ने बेसिक प्याकेजमा ३ जीबी साझा स्टोरेज, व्यावसायिक इमेल खाता, एसएसएल सर्टिफिकेसन, स्वचालित ब्याकअप तथा सुरक्षा सुविधाहरू समावेश छन्।
त्यस्तै, बढ्दो डिजिटल आवश्यकता भएका व्यवसायलाई लक्षित गरिएको प्रो प्याकेजको मासिक शुल्क रु. २ हजार तोकिएको छ । यसमा बढी स्टोरेज र डेटा ट्रान्सफरका साथै २० वटासम्म व्यावसायिक इमेल खाता, १० वटा डेटाबेस, पाँच वटासम्म सबडोमेन, एसएसएल सर्टिफिकेसन, स्वचालित ब्याकअप तथा सुरक्षा सुविधा उपलब्ध हुने एनसेलले जनाएको छ।
एनसेलका चिफ इन्टरप्राइज बिजनेस अफिसर डिओन एसेन्सिओले एनसेल बिजनेस क्लाउडसुइटको सुरुवात नेपालका व्यवसायलाई बलियो र व्यावसायिक डिजिटल उपस्थिति निर्माण गर्न सहयोग गर्ने महत्वपूर्ण कदम भएको बताए।
उनका अनुसार डोमेन नाम र भरपर्दो वेब होस्टिङ हरेक डिजिटल यात्राको आधार भएकाले स्थानीय पूर्वाधार, नेपाली मुद्रामा भुक्तानी र नेपालभित्रै डेटा होस्टिङको सुविधामार्फत व्यवसायलाई थप आत्मविश्वास र नियन्त्रणका साथ डिजिटल बन्न सहज हुनेछ । क्लाउडसुइटको पहिलो चरणमा डोमेन र वेब होस्टिङ सेवामा ध्यान केन्द्रित गरिएको उनले बताए।
एनसेल बिजनेस क्लाउडसुइट प्रयोग गर्दा वेबसाइट होस्टिङ तथा डेटा नेपालभित्रै रहने कम्पनीले जनाएको छ। यसबाट ग्राहकले आफ्नो वेबसाइट डेटा तथा डिजिटल सम्पत्ति देशभित्रै राख्न सक्नेछन् । यसले व्यवसायलाई आफ्ना डेटामाथि थप नियन्त्रण कायम गर्न तथा नियामक आवश्यकताहरू पूरा गर्नसमेत सहज हुने एनसेलको भनाइ छ।



