Nov 03 2026 | २०८३ कार्तिक १८ गते

केयू शिक्षण अस्पताल परियोजनाबाट पछि हट्ने एडीबीको संकेत

केयू शिक्षण अस्पताल परियोजनाबाट पछि हट्ने एडीबीको संकेत

बुधवार, श्रावण २७ २०८३
  • काठमाडौँ । काठमाडौं विश्वविद्यालय (केयू) को ४५० शय्याको शिक्षण अस्पताल निर्माण परियोजनाबाट एसियाली विकास बैंक (एडीबी) ले हात झिक्ने संकेत गरेको छ।करिब दुई वर्षको संवाद, अध्ययन र दस्तावेज आदानप्रदानपछि पाँच अर्ब रुपैया (३४ मिलियन अमेरिकी डलर) सम्म लगानी गर्न एडीबी तयार भएको थियो। जसमध्ये आधाभन्दा बढी अनुदान दिने प्रस्ताव गरिएको थियो।

    त्यस्तै, अनुदनबाहेकको रकम सुलभ व्याजदरमा नेपाली मुद्रामै सावा ब्याजको किस्ता बुझाउने सुविधा दिन एडीबी सहमत भएको थियो।साढे तीन दशक भइसक्दा पनि केयूको आफ्नै शिक्षण अस्पताल चैन। धुलिखेल सामुदायिक अस्पतालसँग सम्झौता गरेर क्लिनिकल कोर्स अध्यापन गराउँदै आएको छ।

    images

    केयूको स्कूल अफ मेडिकल साइन्सका एक पूर्वपदाधिकारी अहिले केयूएको आफ्नै शिक्षण अस्पताल आवश्यक भएको बताउँछन्। ‘धुलिखेल अस्पताल अहिले मेडिकल अस्पतालमा स्तरोन्नति हुन लागेको छ। त्यस्तैले केयूको मेडिकल शिक्षा कार्यक्रम सुचारु गर्न आफ्नै टिचिङ अस्पताल व्यवहारिक र कानुनी दुवै दृष्टिले निशर्त आवश्यता रहेको छ,’ उनी भन्छन्।

    केयू र एडीबीबीच प्रारम्भिक प्रतिबद्धता पत्रमा हस्ताक्षर हुने र अस्पतालको विस्तृत योजना प्रतिवेदन (डीपीआर) बनाउने ठेक्का सम्झौता गर्ने तय भएको थियो। तर, गत वैशाख तेस्रो साता सरकारले प्रा.डा. अच्युत वाग्लेलाई उपकुलपतिबाट हटाएको थियो। अध्यादेशमार्पत् सबै पदाधिकारी पदमुक्त भएका थिए।

    त्यसयता शिक्षण अस्पताल परियोजनाको कुनै पनि काम अगाडि नबढेको अस्पताल स्रोतले जनाएको छ। एडीबीले पनि ‘ड्यु डिलिजेन्स’ पूरा गर्न पत्राचार गरेको थियो। त्यसमा पनि कुनै प्रगति नभएको जनाइएको छ।‘नयाँ नेतृत्वको प्राथमिकता अनुसार मात्रै यो काम अघि बढ्ने वा नबढ्ने तय होला,’ केयूका एक पदाधिकारी भन्छन्।

    एडीबी उच्च स्रोतले पनि केयूमा आउने नेतृत्वको आधारमा परियोजना अगाडि बढ्ने वा नबढ्ने तय हुने बताएको छ। ‘यो परियोजनाको आवश्यकतालाई राम्ररी आत्मसाथ गरेको, टिचिङ हस्पिटल बनाउन प्रतिबद्ध र बहुवर्षीय लगानीको जोखिम र र सुरक्षाको सुझबुझ भएको नेतृत्व भएन भने यस्तो लगानी गर्न सम्भव छैन,’ एडीबी स्रोतले भन्यो, ‘परियोजना सफल पनि हुँदैन। साथमा, धुलिखेल अस्पतालसँगको सम्बन्धलाई सहज अवतरण गराउन सक्ने प्रभावशाली नेतृत्व भएन भने यो आयोजना सफल पनि हुँदैन।’

    एकै स्थानमा दुई वटा विश्वविद्यालय र दुई वटा विश्वविद्यालयका मेडिकल शिक्षाका कार्यक्रम सञ्चालनको अनुमति दिने क्रममा संघ र बागमती प्रदेश सरकारबीच समन्वयको अभाव पनि देखिएको छ। संघीय सरकारले विश्वविद्यालयमा शिक्षण अस्पताल बनाउन प्रतिबद्ध नेतृत्व नियुक्त गर्ने मनसाय समेत नदेखाउनु एडीबी परियोजनाबाट बाहिरिन खोज्नुको अर्को कारण रहेको अस्पताल निर्माण समितिका एक सदस्य बताउँछन्।

    ‘केयूको नेतृत्व चयनका क्रममा यति महत्त्वपूर्ण परियोजनाको भविष्यप्रति सरकारको चासो नै नभएपछि दाता र लगानीकर्ता उत्साहित नहुनु के आश्चर्य भयो र?,’ उनी भन्छन्, ‘अब सायद तत्काल केयूको आफ्नै टिचिङ अस्पताल नै बन्दैन कि।’

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार