काठमाडौं । रौतहट प्रहरीले विभिन्न मुद्दामा दोषी ठहर भई लामो समयदेखि फरार रहेका ९ जना प्रतिवादीलाई एकै दिन पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका प्रहरी युनिटबाट खटिएको टोलीले मंगलबार जिल्लाका विभिन्न स्थानबाट अदालतबाट दोषी ठहर भएका फरार प्रतिवादीलाई पक्राउ गरेको हो।
पक्राउ परेका प्रतिवादीहरूलाई तोकिएको कैद तथा जरिवाना असुलीका लागि जिल्ला अदालत रौतहटमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता डिएसपी वसन्त गौतमले जानकारी दिए।प्रहरीका अनुसार पक्राउ परेकामध्ये लागुऔषध तथा आपराधिक उपद्रव मुद्दामा पुनम उपाध्यायलाई २ हजार १०० रुपैयाँ, चेक अनादर मुद्दामा पूजा पराजुलीलाई १ हजार, निर्मला चौधरीलाई ५ सय, राम नरेश साहलाई २ हजार र मोस्ताकिम मियालाई ५ सय रुपैयाँ जरिवाना तोकिएको थियो।
त्यस्तै, हातहतियारसम्बन्धी कसुरमा बिरेन्द्र राउतलाई ११ महिना १२ दिन कैद तोकिएको थियो। लुटपिट तथा कुटपिट मुद्दामा उमेश साह तेलीलाई १ हजार रुपैयाँ जरिवाना तोकिएको प्रहरीले जनाएको छ।सवारी ज्यान मुद्दामा दोषी ठहर भएका खोभारी साह सोनारलाई ३ वर्ष कैद र ३२ हजार रुपैयाँ जरिवाना तथा शिवमंगल प्रसाद कुशवाहालाई ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना तोकिएको थियो।
प्रहरीका अनुसार पक्राउ परेका ९ जनामाथि कुल ६ वर्ष ११ महिना १२ दिन कैद तथा ६९ हजार १०० रुपैयाँ जरिवाना तोकिएको छ।अदालतबाट फैसला भइसके पनि लामो समयदेखि फरार रहेका प्रतिवादीलाई पक्राउ गरी फैसला कार्यान्वयन तथा दण्ड–जरिवाना असुलीमा प्रहरीले अभियानलाई निरन्तरता दिएको जनाएको छ।



