काठमाडौं । इरानसँगको युद्ध चर्किएसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको सुरक्षा चुनौती गम्भीर मोडमा पुगेको खुलासा भएको छ। गत फेब्रुअरीमा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी लक्षित हवाई आक्रमणपछि दुई देशबीच सुरु भएको सैन्य द्वन्द्वले अब 'व्यक्तिगत बदला'को रूप लिएको छ।
अन्तर्राष्ट्रिय समाचार संस्थाहरूका अनुसार गत महिना टर्कीमा सम्पन्न नेटो शिखर सम्मेलनबाट फर्किने क्रममा अमेरिकी सुरक्षा निकाय 'सिक्रेट सर्भिस'ले ट्रम्पलाई सम्भावित इरानी मिसाइल आक्रमणबाट बचाउन एक गुप्त अपरेसन चलाएको थियो।
राष्ट्रपति ट्रम्पलाई इरानी खतराबारे प्राप्त विशेष गुप्तचर सूचनाका आधारमा राजधानी अङ्काराबाट फर्किँदा मुख्य राष्ट्रपतीय विमान 'एयर फोर्स वन' (७४७ जेट) मा नराखी अर्को वैकल्पिक विमानमा गोप्य रूपमा सवार गराइएको थियो।
सञ्चारकर्मी र ह्वाइट हाउसका अधिकांश कर्मचारीलाई भने मुख्य 'एयर फोर्स वन'मै छाडिएको थियो, जसले एउटा भ्रम सिर्जना गर्ने माध्यमको काम गरेको थियो। उक्त अपरेसनका क्रममा ट्रम्पलाई क्याटरिङ ट्रकभित्र लुकाएर अर्को विमानसम्म पुर्याइएको खुलासा भएको छ। सुरक्षा अधिकारीहरूले यो घटना सार्वजनिक हुन नदिन करिब एक महिनाभन्दा बढी समय गोपनीयता कायम राखेका थिए।
यस विषयमा टिप्पणी गर्दै राष्ट्रपति ट्रम्पले एबीसी न्यूजका संवाददातासँग भनेका छन्, 'उनीहरूले मलाई निशाना बनाउनुअघि नै मैले कारबाही गरेँ। उनीहरूले दुई पटक प्रयास गरेका थिए, तर सफलता मैले पाएँ।' अमेरिकी रक्षा मन्त्री पिटर हेगसेथले पनि इरानले राष्ट्रपति ट्रम्पको हत्या गर्ने योजना बनाएको पुष्टि गर्दै अमेरिकी प्रहारमा इरानी हत्या टोलीका मुख्य कमाण्डर मारिएको दाबी गरेका छन्।
यद्यपि, आफूलाई सधैँ शक्तिशाली सैन्य नेताका रूपमा प्रस्तुत गर्दै आएका ट्रम्पका लागि केटरिङ ट्रकमा लुकेर विमान सर्नुपरेको घटनाले उनको जनछविमा चुनौती थपेको विश्लेषण गरिएको छ। इरानमा खामेनीको अन्त्येष्टि समारोह तथा तेहरानका सार्वजनिक स्थानहरूमा रगतको बदला रगत जस्ता नारा र भित्तेचित्रहरू सार्वजनिक भएपछि इरानले ट्रम्पलाई मुख्य निशाना बनाएको स्पष्ट हुन्छ।
सन् २०२० मा इरानी कमाण्डर कासिम सुलेमानीको हत्या, २०२५ मा इरानका आणविक केन्द्रहरूमा अमेरिकी बमबारी र हालैको खामेनीको मृत्युपछि सुरु भएको यो शृङ्खलाले मध्यपूर्वको युद्धलाई थप जटिल र खतरनाक मोडमा पुर्याएको छ। वासिङ्टन र तेहरानबीच बढ्दो तनावका बीच राष्ट्रपति ट्रम्पले ट्रुथ सोसलमार्फत चेतावनी दिँदै भनेका छन्, 'यदि इरानले कुनै दुस्साहस गरेमा १ हजारभन्दा बढी मिसाइलहरू इरानतर्फ सोझिएका छन्।'



