काठमाडौँ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लगायत यातायात सम्बन्धी सेवालाई थप व्यवस्थित गर्न नयाँ अनलाइन प्रणाली कार्यान्वयनमा ल्याएको छ । २०८३ साउन १ गते देखि लागु भएको नयाँ प्रणालीमा लाइसेन्सको नयाँ फारम भर्न र विवरण अद्यावधिक गर्न राष्ट्रिय परिचयपत्र, आफ्नै नाममा रहेको मोबाइल नम्बर र इमेल अनिवार्य गरिएको छ।
यसैबिच, सर्भर अपग्रेड र नयाँ प्रणाली लागु गर्ने सन्दर्भमा सिस्टम डाउन भएर देशभरका यातायात कार्यालयमा साउन १ गतेदेखि करिब ३ साता यातायात सम्बन्धी सबै सेवा रोकिएका थिए । अहिले सेवा सञ्चालनमा आइसकेको यातायात व्यवस्था विभागका निर्देशक केशव खतिवडाले स्पष्ट पारे।
नागरिक एपबाटै ‘अटो फिल’, विदेशमा हुनेलाई इमेलमा ओटीपी
विभागका अनुसार नयाँ अनलाइन प्रणालीलाई नागरिक एप, राष्ट्रिय परिचयपत्र तथा मोबाइल फोन सेवा प्रदायकको प्रणालीसँग एकीकृत गरिएको छ । अब नागरिक एपमार्फत सेवाग्राहीको विवरण स्वतः भरिने व्यवस्था मिलाइएको छ ।
त्यसैगरी, भविष्यमा मुलुक बाहिरबाट समेत यातायात सम्बन्धी सेवा लिने सेवाग्राहीलाई सहज बनाउन इमेलमै ओटीपी प्राप्त गर्न सकिने सुविधा थपिएको छ । यसका लागि सेवाग्राहीले आफ्नो विवरण अद्यावधिक गर्न वा नयाँ आवेदन दिन राष्ट्रिय परिचयपत्र नम्बर, आफ्नै नाममा दर्ता भएको मोबाइल नम्बर र इमेल अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ
नवीकरणलाई प्राथमिकता
बागमती प्रदेशका कलंकी, ठुलो भर्याङ लगायतका यातायात कार्यालयहरूमा नयाँ लाइसेन्सको फारम भर्न नमिल्ने अवस्था रहेको र विभागबाटै सर्भर बिग्रेको भन्दै सेवाग्राहीले गुनासो गरेपछि निर्देशक खतिवडाले अहिले सर्भर चलिरहेको तर लाइसेन्स नवीकरणलाई प्राथमिकता दिएको बताए।
‘सर्भर नचलेको वा बिग्रिएको होइन, अपग्रेड गर्दा समस्या भएको हो । अहिले चालु भइरहेको छ । हिजोमात्रै एकान्तकुना कार्यालयले १० लाखभन्दा बढी राजस्व उठाएको छ,’ उनले भने, ‘अहिले रिन्यु (नवीकरण) गर्ने सेवाग्राहीको भिड अत्यधिक भएकाले कार्यालयहरूले आन्तरिक व्यवस्थापनका लागि पहिला नवीकरणको काम सक्ने र नयाँको लिने भनेर आफैँ म्यानेज गरेका हुन्।’उनका अनुसार सिस्टममा नयाँ फारम भर्ने, लिखित परीक्षा दिने र ट्रायल दिने काम देशभर निरन्तर भइरहेको छ।
नयाँ प्रणाली राष्ट्रिय परिचयपत्रसँग प्रत्यक्ष जोडिएकाले (भेरिफिकेसन गर्नुपर्ने भएकाले) परिचयपत्र नभएकाहरुको काममात्र रोकिएको निर्देशक खतिवडाले बताए । राष्ट्रिय परिचयपत्र नभएको अवस्थामा एकै दिनमा परिचयपत्रको नम्बर प्राप्त गर्न सकिने उनले बताए।
परिचयपत्रको कार्ड छापिएर आउन समय लाग्ने भएकाले सेवाग्राहीले चिन्ता लिनु नपर्ने उनको भनाइ छ । ‘फारम भर्नका लागि कार्ड नै चाहिँदैन । जिल्ला प्रशासन कार्यालयमा गएर विवरण दर्ता गराउनासाथ पाइने परिचयपत्र नम्बर भए पुगिहाल्छ, त्यो एकैछिनमा बन्छ,’ उनले प्रस्ट पारे।
सातै प्रदेशका लागि छुट्टाछुट्टै वेबसाइट
नयाँ प्रणाली कार्यान्वयनसँगै विभागले प्रदेश अनुसार अनलाइन फारम भर्न छुट्टाछुट्टै वेबसाइट सञ्चालनमा ल्याएको छ। सेवाग्राहीले अब आफूलाई पायक पर्ने प्रदेशको लिंकमा गएर फारम भर्न सक्नेछन्।
कोशी प्रदेश : edlvrs.koshi.gov.np
मधेश प्रदेशः edlvrs.madhesh.gov.np
बागमती प्रदेशः edlvrs.bagamati.gov.np
गण्डकी प्रदेशः edlvrs.gandaki.gov.np
लुम्बिनी प्रदेशः edlvrs.lumbini.gov.np
कर्णाली प्रदेशः edlvrs.karnali.gov.np
सुदूरपश्चिम प्रदेशः edlvrs.sudurpashchim.gov.np



