Nov 03 2026 | २०८३ कार्तिक १८ गते

बुटवल र भैरहवामा खुला रूपमा ग्यास वितरण, उपभोक्ताको भिड

बुटवल र भैरहवामा खुला रूपमा ग्यास वितरण, उपभोक्ताको भिड

मंगलवार, श्रावण २६ २०८३
  • काठमाडौं । बजारमा खाना पकाउने एलपी ग्यासको अभाव बढ्दै गएपछि बुटवल र भैरहवामा मंगलबार खुला रूपमा ग्यास वितरण गरिएको छ।नेपाल आयल निगम, ग्यास विक्रेता सङ्घ र जिल्ला प्रशासन कार्यालय रुपन्देहीको समन्वयमा बुटवल र भैरहवाका विभिन्न स्थानमा उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन बिक्री वितरण गरिएको हो।

    नेपाल आयल निगम लुम्बिनी प्रादेशिक कार्यालय भलवारीका अनुसार स्वस्तिक, त्रिशूल, बुटवल, सिद्धार्थ, जानकी, सिद्धनाथ, लुम्बिनी, आरतीलगायत ९ वटा कम्पनीका ग्यास सिलिन्डर वितरण गरिएको छ।कार्यालय प्रमुख शैलेन्द्र भुसालका अनुसार मंगलबार साँझसम्म बुटवलमा करिब १५ हजार र भैरहवामा १० हजार सिलिन्डर वितरण गर्ने लक्ष्य राखिएको राताेपाटीलाई बताए।

    images

    बुटवलको बाल मन्दिर र भैरहवास्थित खाद्य संस्थान परिसरबाट ग्यास वितरण गरिएको हो।“उपभोक्ताबाट ग्यास नपाएको गुनासो बढेपछि सहज बनाउन खुला रूपमा बिक्री वितरण गरिएको हो,” भुसालले भने। उनका अनुसार रुपन्देहीमा दैनिक करिब ९ हजार सिलिन्डर ग्यास पठाइरहेको र अबको ३–४ दिनमा समस्या समाधान हुने अपेक्षा गरिएको छ।

    ग्यास विक्रेता सङ्घ रुपन्देहीका महासचिव सूर्य खनालले घरमा ग्यास स्टक गरेर राख्नेभन्दा पनि तत्काल आवश्यक भएका उपभोक्तालाई प्राथमिकता दिइएको बताए।उनका अनुसार घरमा एउटा मात्रै सिलिन्डर भएका उपभोक्ता, विद्यार्थी, मजदुर, अशक्त, बिरामी तथा ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखेर ग्यास वितरण गरिएको छ।

    खनालले ग्यास उद्योगहरूले विगतको तुलनामा बजारमा ग्यास पठाइरहे पनि कतिपय उपभोक्ताले घरमा ग्यास स्टक गरेर राखेकाले बजारमा अभाव देखिएको हुनसक्ने बताए।आयल निगमको समन्वयमा खुला रूपमा ग्यास वितरण हुने जानकारी पाएपछि बुटवल उपमहानगरपालिकाअगाडि रहेको बाल मन्दिर र भैरहवाको खाद्य संस्थान परिसरमा उपभोक्ताको ठुलो भिड लागेको थियो।

    उपभोक्तालाई नागरिकता तथा अन्य परिचयपत्रका आधारमा ग्यास सिलिन्डर उपलब्ध गराइएको थियो। ग्यास वितरणस्थलमा लामो समयदेखि ग्यास नपाएका उपभोक्ताको उल्लेख्य सहभागिता देखिएको थियो।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार