काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैली, विवादास्पद अभिव्यक्तिलगायतका विषयमा सरकारको आलोचना गरेको छ।नेकपाका सांसद गोपाल शर्माले मंगलबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शाहले संसद्लाई बेवास्ता गरेको र जनताका समस्याप्रति संवेदनशील नभएको आरोप लगाए।
सांसद शर्माले प्रधानमन्त्रीका केही पछिल्ला अभिव्यक्तिहरू गलत र विवादास्पद रहेको भन्दै ती अभिव्यक्तिहरू संसद्को रेकर्डबाट हटाउन सभामुखसँग माग गरे । प्रधानमन्त्रीले संसद्लाई जवाफ दिनुको सट्टा बेवास्ता गरेको उनको टिप्पणी थियो।
संसदीय नियमावलीको नियम ५६ अनुसार प्रत्येक महिनाको पहिलो हप्ता प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम हुनुपर्ने व्यवस्था भए पनि साढे चार महिना बितिसक्दा समेत प्रधानमन्त्री संसद्मा उपस्थित नभएकोमा शर्माले आपत्ति जनाए । ‘त्यो पहिलो हप्ता कहिले आउँछ ? प्रधानमन्त्री ज्यूलाई संसद्मा ल्याएर प्रश्न सोध्ने दिनको हामी पर्खाइमा छौँ,’ शर्माले भने।
मुलुकमा ग्यासको हाहाकार भइरहेको र सरकारले आयात प्रतिस्थापनको कुरा गरे पनि विद्युत महसुलमा भ्याट र कर बढाएर उपभोक्तालाई थप मारमा पारेको उनले बताए । यस्तै, प्रतिष्ठित व्यवसायीहरू देवनारा र प्रकाश मुन्दडाको घर र कार्यालयमा बिना सूचना प्रहरीले छापा मारेर निजी क्षेत्रलाई त्रसित बनाएको भन्दै उनले सरकारको नियतमाथि प्रश्न उठाए।
सुनसरीमा भएको हिंसात्मक घटनालाई धार्मिक दङ्गा भनिएकोप्रति असहमति जनाउँदै सांसद शर्माले त्यो राज्यपक्षको बल प्रयोगका कारण भएको दाबी गरे।
‘राज्यको गोलीबाट नागरिक मारिएका छन्, यो धार्मिक दङ्गा होइन, राज्यको नियोजित बल प्रयोग हो,’ उनले भने। नेपाली सेनालाई सुकुम्बासी बस्ती र सडकमा गस्ती गर्न लगाएर सेनाको मर्यादा घटाउने काम गरिएको भन्दै उनले आपत्ति जनाए।



