काठमाडौँ । दलालहरुले संयुक्त अरब इमिरेट्स (यूएई) लाई ‘ट्रान्जिट’ बनाएर अन्य विकसित मुलुकमा रोजगारीका लागि पठाउने बाहनामा नेपाली युवा युवतीहरु ठगिने क्रम दैनिक बढ्दो छ ।
नेपालबाट श्रम स्वीकृति नलिई भिजिट भिसामा यूएईलाई ‘पावर प्वाइन्ट’ बनाई नेपाली युवा युवतीलाई ल्याउने र आर्थिक शोषणमा पार्ने गरेको पाइएको छ ।
यसरी ल्याइएका नेपाली युवा युवतीलाई यूएईका विभिन्न ठुला कम्पनीमा काम लगाइदिने भनी प्रलोभनमा पार्ने त कतिपयले भ्रामक प्रचारप्रसार गरी युरोपका देशहरु क्यानडा, पोल्यान्ड, माल्टालगायतको भिसा लगाइदिन्छु, भन्दै नेपालीले नै नेपालीलाई ठगी गर्ने तथ्यहरु खुलेका हुन् ।
विभिन्न प्रलोभनमा पारेर यसरी नेपालीबाट नेपालीमाथिनै ठगि गरि मानव तस्करी गर्ने क्रम बढेसँगै अबुधावीस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै विगत केही दिनदेखि नेपालबाट श्रम स्वीकृति लिई वा नलिई यूएईका विभिन्न राज्यमा नेपाली युवायुवतीलाई ल्याउने क्रम बढेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । शिक्षित युवायुवतीलाई समेत यूएईमा केही समयको बसाइपछि युरोप अमेरिकालगायतका राष्ट्रमा पठाइदिने भन्ने सपना देखाई मानव तस्करहरूले ठूलो रकम असुल गर्ने गरेका पाइएको जनाएको छ ।
नेपालस्थित म्यानपावरले जानकारी गराएका कम्पनीले उपलब्ध तलब तथा सेवा सुविधा सर्तहरू स्वीकार गरी विभिन्न म्यानपावरबाट यूएईका विभिन्न कम्पनीमा काम गर्न आउने र कम्पनीमा करार सम्झौता गरी काम गर्न थालेको महिना दिन नपुग्दै सर्तबमोजिमका काम गर्न इन्कार गरी बिनासूचना कम्पनी छाडी एजेन्टको प्रलोभनमा परी फसेको र नेपाल सरकारले तय गरेको भिजिट भिसाका सम्पूर्ण सर्त स्वीकार गरी यूएई प्रवेशपश्वात दलालले फसाएको गुनासाप्रति दूतावासको गम्भीर ध्यानाकर्षण भएको यूएईस्थित नेपाली दूतावासले जनाएको छ ।
नेपालमा इजाजतवाला म्यानपावर, त्यसका प्रतिनिधि बताउने तथा यूएईस्थित स–साना कम्पनीका सञ्चालक र एजेन्टसमेत संलग्न रहेको बुझिन आएको दूतावासले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । यसरी अनधिकृत रूपमा विभिन्न षड्यन्त्र तथा जालझेलबाट हुने ठगी, आर्थिक शोषणबाट बच्न यूएईको कुनै पनि कम्पनीमा काम गर्न आउनुभन्दा अघि कम्पनी तथा कम्पनीले उपलब्ध गराउने तलब, सेवा सुविधा राम्रोसँग बुझेर मात्र आउन पनि दूतावासले अनुरोध गरेको छ ।
भिजिट भिसामा आउनुभन्दा अघि सोसम्बन्धी आधारभूत कुराहरू स्पष्टसँग जानकारी प्राप्त गरेर मात्र आउन दूतावासले आग्रह गरेको छ । भिजिट भिसा वा श्रम स्वीकृति लिएर आएका व्यक्तिहरूले युरोपका विभिन्न मुलुक तथा अमेरिकालगायत अन्य राष्ट्रमा रोजगारीका लागि जाने विषयमा विद्यमान कानुनविपरीत हुने पनि दूतावासले जनाएको छ ।



