Nov 03 2026 | २०८३ कार्तिक १८ गते

गण्डकी सरकारले वितरण गरेको खेलकुद पदकमा विवाद, छानबिन गर्न समिति गठन

गण्डकी सरकारले वितरण गरेको खेलकुद पदकमा विवाद, छानबिन गर्न समिति गठन

सोमवार, श्रावण २५ २०८३
  • काठमाडौँ । गण्डकी प्रदेश सरकारले वितरण गरेको खेलकुद पदक विवादमा आएपछि छानबिन समिति गठन भएको छ । सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा.शेषनारायण पौडेलको संयोजकत्वमा ३ सदस्यीय समिति गठन भएको हो । समितिको सदस्यमा मन्त्रालयकै खेलकुद क्षेत्र हेर्ने घनश्याम पौडेल र नारायण बास्तोला छन्। साउन २९ गतेभित्र समितिले प्रतिवेदन मन्त्रीलाई बुझाउनुपर्ने म्याद छ।

    खेलकुद मन्त्री रेखा गुरुङले समितिले यथाशक्य छिटो प्रतिवेदन बुझाउने बताइन् । ‘सदस्य सचिवका कारणले विवाद सिर्जना भएको छ । मुख्यमन्त्री ज्यूको पनि गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले भनिन्, ‘सम्बन्धित खेलाडीले पनि विरोध गरेका कारण छानबिन गर्नुपर्छ भनेर समिति गठन गरेका छौँ।’

    images

    गण्डकी खेलकुद परिषद्ले असार ३० गते वितरण गरेको खेलकुद पदकमा लापरबाही र मिलेमतो भएको भन्दै खेलाडी र सङ्घ–संस्थाले विरोध गरिरहेका छन् । खासगरी सदस्य सचिव श्रीधर शर्माले सिफारिस समितिको अन्तिम निर्णय र जानकारी बिना नै मनोमानी ढंगले पदक वितरण गरेको आरोप लगाइएको छ । पदक सिफारिस समितिकै सदस्यहरूले आफू अनुकूलका व्यक्ति र संस्थालाई दिलाएको आरोप खेलाडीहरूले लगाएका छन्।

    को– कसले लिए पदक ?

    खेलकुद पत्रकारिता पदक लिने पत्रकार समेत रहेका केशव पाठक आफैँ सिफारिस समितिका सदस्य हुन् । उनी गण्डकी खेलकुद परिषद्का पूर्व बोर्ड सदस्य र सल्लाहकार पनि हुन् । उनै केन्द्रीय महासचिव रहेको गण्डकी ह्यान्डबल सङ्घलाई पनि उत्कृष्ट खेल सङ्घको पुरस्कार दिइएको छ।

    यसका अध्यक्ष चित्रबहादुर थापा पनि पदक र पुरस्कार सिफारिस समितिको सदस्य छन् । उक्त सङ्घले ९० हजार नगद पाएको थियो । सङ्घ संस्थाको तर्फबाट नेपाल भूतपूर्व खेलाडी मञ्च सम्मानित भएको छ । उक्त संस्था सिफारिस समितिकै सदस्य हरि पराजुली र केशव पाठक आबद्ध रहेको संस्था हो । यसबाहेक खेलाडीहरू अरुणा शाही, सुस्मिता थापामगर, योगेन्द्र शेरचन र असिम शेरचन पनि सम्मानित भएका छन् । क्रिकेट प्रशिक्षक रिजन प्रजुले पनि मेडल प्राप्त गरेका छन्।

    गण्डकी प्रदेश टेनिस सङ्घ सर्वोत्कृष्ट प्रदेश खेल सङ्घ घोषित हुँदै नगद १ लाख २० हजार रुपैयाँ पुरस्कार पायो । उत्कृष्ट खेल सङ्घका रूपमा ह्याण्डबलसँगै गण्डकी प्रदेश फेन्सिङ सङ्घ पनि पुरस्कृत भएको छ । प्रक्रिया मिचेर पदक वितरण भएको पुष्टि भए आवश्यक कारबाही गर्ने मन्त्री गुरुङले बताइन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार