काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा), नेपालका सांसद महन्थ ठाकुरले समाजमा बढ्दो धार्मिक असहिष्णुताप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव कायम राख्न कानुनी र नैतिक आधार बलियो हुनुपर्नेमा जोड दिएका छन्।
सोमबार संघीय संसद्को विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा ‘राष्ट्रिय सदाचार नीति, २०८३’ को कार्यान्वयनका सम्बन्धमा भएको छलफलमा बोल्दै उनले यस्तो धारणा राखेका हुन्।
नेपालको विविधतापूर्ण समाजमा एउटा समुदायको धार्मिक गतिविधि वा नाराबाजी अर्को समुदायका लागि असहज बन्ने गरेको उनले उल्लेख गरे। मानवीय नैतिकताको अभावमा धर्मका नाममा विवाद हुने गरेको तर्क गर्दै उनले भगवानको नाममा हुने झगडामा नैतिकताको खोजी गरिनुपर्ने बताए।
संसदमा बोल्दै सांसद ठाकुरले भने, ‘एक समाजको मठ–मन्दिर अगाडि अर्को समाजको जुलुस जाँदा कतिपय अवस्थामा सहिष्णुता देखिए पनि, कतिपय अवस्थामा फरक नारा र धार्मिक मान्यताका कारण टकराव हुने गरेको छ। यस्तो असहिष्णुताले समाजमा मारकाट र द्वन्द्व निम्त्याउने गरेको छ।’
नैतिकता मानिसको बीचमा हुनुपर्ने विषय भएको उल्लेख गर्दै उनले थपे, ‘पछिल्लो समय पाश्चात्य शिक्षाको प्रभावले पाठ्यक्रमबाट नैतिक शिक्षा हटाइनु दुःखद् छ। यदि समाजमा कानुनी आधार रहन्छ भने मात्र पीडितले न्यायका लागि पहल गर्न सक्छन्, अन्यथा समाज अराजकतातर्फ धकेलिन्छ।’
नेपाली संस्कृतिलाई ‘प्यासिभ’ अर्थात् सहनशील संस्कृतिका रूपमा चित्रण गर्दै उनले यसलाई कमजोरीका रूपमा लिन नहुने बताए। समाजमा अराजकता फैलिन नदिन सरकारले कडा कानुनी व्यवस्था र दण्ड सजायको प्रावधान राख्नुपर्ने उनको सुझाव छ। राष्ट्रिय सदाचार नीतिको प्रभावकारी कार्यान्वयनले नै समाजमा सुशासन र सद्भाव कायम गर्न मद्दत पुग्ने उनको निष्कर्ष छ।



