Nov 03 2026 | २०८३ कार्तिक १८ गते

निजी क्षेत्रको सफलता नै आर्थिक सफलताको आधार: अर्थमन्त्री वाग्ले

निजी क्षेत्रको सफलता नै आर्थिक सफलताको आधार: अर्थमन्त्री वाग्ले

सोमवार, श्रावण २५ २०८३
  • काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको आर्थिक रूपान्तरणका लागि सरकार र निजी क्षेत्रबिच बलियो साझेदारी हुनुपर्ने बताएका छन्।नेपालका २० ठुला बहुराष्ट्रिय करदाता कम्पनीका प्रतिनिधिहरूसँग आयोजित छलफलमा बोल्दै अर्थमन्त्री वाग्लेले निजी क्षेत्रको सफलता नै नेपालको आर्थिक सफलताको मुख्य आधार भएको बताएका हुन्।

    मुलुकको आर्थिक विकास कुनै एक मन्त्रालय वा नीतिको एकल प्रयासबाट मात्र सम्भव नहुने उल्लेख गर्दै उनले यसका लागि एकीकृत राष्ट्रिय दृष्टिकोण आवश्यक रहेको स्पष्ट पारेका छन्। सरकारले निजी क्षेत्रलाई शङ्काको दृष्टिले नभई विकासको अभिन्न साझेदारका रूपमा हेर्ने उनको भनाइ छ।

    images

    उद्योगले कमाउने नाफाले पुनरलगानी बढाउने र त्यसबाट सिर्जना हुने रोजगारी र आम्दानीले अन्ततः राज्यको राजस्वमा योगदान पुग्ने भन्दै उनले सरकार र निजी क्षेत्रको सम्बन्ध परिपूरक रहेको उल्लेख गरेका छन्। वैध रूपमा गरिएको लगानी र आर्जन गरिएको मुनाफाको सुरक्षा गर्ने पूर्ण जिम्मेवारी सरकारले लिने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।

    सो अवसरमा अर्थमन्त्रीले उद्यमीहरूलाई नेपालमा थप लगानी गर्न, उद्योग विस्तार गर्न र नयाँ प्रविधि भित्र्याउँदै रोजगारीका अवसरहरू सिर्जना गर्न आग्रह गरेका छन्। सरकारले विगतका समस्याहरूलाई सच्याउँदै लगानीमैत्री वातावरण बनाउन विशेष छुट र सुविधाहरू समेत घोषणा गरेको उनले स्मरण गराएका छन्।

    अर्थमन्त्री वाग्लेले भने, ‘चालु आर्थिक वर्षको बजेटमार्फत हामीले स्पष्ट सन्देश दिएका छौँ कि सरकारको प्राथमिकता केवल कर सङ्कलन मात्र होइन। हाम्रो मुख्य लक्ष्य उत्पादन, लगानी, नाफा र पुनरलगानीको चक्रलाई तीव्र बनाउनु हो।’

    नेपालमा वैध रूपमा सिर्जना गरिएको सम्पत्ति र नाफाको सुरक्षा गर्नु राज्यको प्रमुख दायित्व भएको उनले बताएका छन्। लगानीकर्ताले नियमको स्थिरता र कर प्रणालीको पूर्वानुमानयोग्यतामा विश्वास गर्न सक्ने वातावरण निर्माण नभएसम्म ठुलो लगानी आउन नसक्ने धारणा उनले राखेका छन्।

    छलफलका क्रममा उनले कर प्रशासन, जग्गा प्राप्ति, ऊर्जा, श्रम, पूर्वाधार र कानुनी प्रक्रियामा रहेका व्यवधानहरूबारे व्यवसायीहरूको प्रत्यक्ष अनुभव र सुझाव मागेका छन्। सरकारले आगामी ६ महिनाभित्र गर्नुपर्ने मुख्य सुधारका कार्यहरू पहिचान गरी समाधानको ठोस कार्यसूची बनाएर अघि बढ्ने जानकारी उनले दिएका छन्।

    कार्यक्रममा सहभागी उद्यमीहरूले लगानीका अवरोध र नीतिगत सुधारका विषयमा अर्थमन्त्रीलाई सुझाव दिएका थिए। अर्थमन्त्री वाग्लेले प्राप्त सुझावहरूलाई सम्बोधन गर्दै सरकार व्यवसायीहरूको मनोबल उच्च बनाउन प्रतिबद्ध रहेको बताएका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार