काठमाडौँ । पाल्पाको तिनाउ गाउँपालिका-४ चिउरी डाँडास्थित भित्री कच्ची सडक खण्डमा जिप दुर्घटना हुँदा चालकसहित १० जना घाइते भएका छन्।झुम्सा–सत्यवती-धसमिघा सडक खण्डमा माझगढी गाउँपालिका-५ बंसीङ डाँडाबाट बुटवलतर्फ जाँदै गरेको लु१ज २२३७ नम्बरको मुस्ताङ पिकअप जिप सोमबार बिहान करिब ७:०० बजे अनियन्त्रित भई दुर्घटना भएको हो।
सडकबाट करिब ११० मिटर तल खसेको जिप दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी दोभान पाल्पाबाट खटिएको प्रहरी टोली घटनास्थल पुगी घाइतेहरूको उद्धार गरेको थियो।दुर्घटनामा जिपका चालक देवकुमार घर्तीसहित अन्य १० जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर र ९ जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
घाइतेहरूलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रुपन्देही पठाइएको छ। हालसम्म घाइतेहरूको नाम, थर र ठेगाना खुल्न सकेको छैन । घटनाको बारेमा थप अनुसन्धान जारी रहेको पाल्पा प्रहरीले जनाएको छ।



