काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग छलफल गरेर वार्षिक सय जना कामदार वैदेशिक रोजगारीमा पठाउन नपाएका म्यानपावर कम्पनीको इजाजत नवीकरण हुने व्यवस्था गरिदिने आश्वासन दिएका छन् ।
नवनिर्वाचित प्रधानमन्त्री ओलीलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिन नेपाल वैदेशिक रोजगार व्यवसायी संघको प्रतिनिधिमण्डल प्रधानमन्त्री निवास बालुवाटार पुगेको थियो ।
उक्तअवसरमा प्रधानमन्त्री ओलीले संघको प्रतिनिधिमण्डललाई उक्त आश्वासन दिएको संघका महासचिव मेघनाथ भुर्तेलले जानकारी दिए ।
यसअघिको सरकारको अन्तिम मन्त्रिपरिषद् बैठकमा वार्षिक सय जना कामदार पठाउन नसकेका म्यानपावर व्यवसायीको समेत इजाजत नवीकरण गर्न वैदेशिक रोजगार ऐन २०६४ को दफा ८२ अन्तर्गत बाधा अड्काउ फुकाउने प्रस्ताव नलगिएपछि करिब सवा दुई सय म्यानपावर व्यवसायीले असार मसान्तसम्म लाइसेन्स नवीकरण गराउन पाएका छैनन् ।
बुधबार शुभकामना व्यक्त गर्ने क्रममा संघका अध्यक्ष राजेन्द्र भण्डारीले वैदेशिक रोजगार ऐनले इजाजतपत्र नवीकरणका लागि सय जना कामदार पठाउनुपर्ने बाध्यता खडा गरेकोे अवस्थामा यसअघिको सरकारका श्रममन्त्री डोलप्रसाद अर्यालले जसरी पनि इजाजतपत्र नवीकरण हुने व्यवस्था गरिने बताउँदै एक महिनाअघिदेखि आश्वासन दिएर अन्तिममा आफैंले पठाएको प्रस्ताव फिर्ता लिएका कारण व्यवसायी समस्यामा रहेकोे विषयमा प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराए ।
उक्त छलफलमा प्रधानमन्त्री ओलीको त्यस विषयमा ध्यानाकर्षण गराएको संघले छिट्टै श्रममन्त्री भण्डारीलाई भेटेर समस्या समाधानका लागि आग्रह गर्ने बताएको छ ।
शुभकामनाका लागि संघ कार्यसमिति पदाधिकारी तथा सदस्यसहित सल्लाहकार रघुनाथ पुरी र वैदेशिक रोजगार व्यवसायी प्रगतिशील मञ्च नेपालका पूर्वअध्यक्ष टंक राउतलगायत प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।



