काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ सरकार बनेपिच्छे हेटौँडाको बन्द कपडा उद्योग चलाउन गरिने प्रयास र देखाउने गरिएको ‘नाटक’प्रति टिप्पणी गरेका छन्।उनले हेटौँडा कपडा उद्योगको पुनः सञ्चालन राजनीतिक स्टन्ट हो कि दिगो सञ्चालन भन्दै प्रश्न उठाएका हुन्।
सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै पोखरेलले नयाँ सरकार बनेपछि हेटौँडा कपडा उद्योग चलाउने प्रयास गरिने र केही दिन चलेको नाटक पनि देखाइने गरेको उल्लेख गरेका छन्। तर केही समय नबित्दै उद्योग पुनः बन्द हुने पुरानै नियति दोहोरिने गरेको उनले बताएका छन्।
राजनीतिक प्रचारका लागि यस्तै नाटक दोहोर्याउनुभन्दा उद्योगलाई कसरी आधुनिक प्रविधि, व्यावसायिक क्षमता र कुशल व्यवस्थापनका साथ दिगो रूपमा चलाउन सकिन्छ भनेर ठोस योजना बनाउनु आवश्यक रहेको उनको भनाइ छ।
महासचिव पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाविना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित रहेको चेतावनी दिएका छन्।



