काठमाडौँ । व्यवसायी शेखर गोल्छाको हुलास फिनसर्भ हायर पर्चेजले गत आर्थिक वर्ष २०८२/८३ मा ३९ करोड ८७ लाख २३ हजार रुपैयाँ खुद नाफा गरेको छ । कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ८४.४५ प्रतिशतले बढेको हो।
हुलास फिनसर्भले सार्वजनिक गरेको आव २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले व्यवसाय विस्तारसँगै नाफामा समेत उल्लेख्य सुधार गरेको छ । अघिल्लो आवमा कम्पनीले २१ करोड ६१ लाख ६९ हजार रुपैयाँ खुद नाफा गरेको थियो।
एक वर्षको अवधिमा कम्पनीको व्यवसायको आकार करिब एकतिहाइले बढेको छ । व्यवसाय विस्तारसँगै खुद ब्याज आम्दानी र नाफामा उल्लेख्य वृद्धि भएको हो।गत आवमा कम्पनीको खुद ब्याज आम्दानी २२ करोड १० लाख रुपैयाँबाट बढेर ४८ करोड २३ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, कम्पनीको कुल कर्जा ८ अर्ब २ करोड ५५ लाख रुपैयाँबाट ५२ प्रतिशतले बढेर १२ अर्ब २१ करोड ८५ लाख रुपैयाँ पुगेको छ।
कम्पनीले निष्क्रिय कर्जा नियन्त्रणमा समेत सुधार गरेको छ । अघिल्लो आवमा ३.४० प्रतिशत रहेको निष्क्रिय कर्जाको अनुपात घटेर गत आवमा १.८७ प्रतिशतमा झरेको छ । चुनौतीपूर्ण आर्थिक अवस्थाका बीच प्रभावकारी असुली प्रक्रियाका कारण खराब कर्जा घटाउन सफल भएको व्यवस्थापनले जनाएको छ।
नाफामा भएको वृद्धिसँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । अघिल्लो आवको अन्त्यमा २६.०४ रुपैयाँ रहेको ईपीएस गत आवमा बढेर ४८.०४ रुपैयाँ पुगेको छ।कम्पनीको प्रतिसेयर नेटवर्थ २२७.४६ रुपैयाँ, रिटर्न अन इक्विटी २१.१२ प्रतिशत, कस्ट अफ फन्ड ५.७७ प्रतिशत र ब्याजदर स्प्रेड ३.३९ प्रतिशत रहेको छ । असार मसान्तसम्म कम्पनीको साधारण जगेडा कोषमा २८ करोड ३९ लाख रुपैयाँ रहेको छ।
गत आवमा आर्जन गरेको खुद नाफासहित अघिल्लो आवसम्मको सञ्चित मुनाफा जोड्दा कम्पनीको वितरणयोग्य नाफा ७७ करोड ४० लाख रुपैयाँ पुगेको छ । उक्त रकमका आधारमा कम्पनीले चुक्ता पुँजीको करिब ९३ प्रतिशतसम्म लाभांश वितरण गर्ने क्षमता राख्छ।
हुलास फिनसर्भ नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त हायर पर्चेज कर्जा प्रदायक कम्पनी हो । कम्पनीले सन् २०१२ देखि हायर पर्चेज सेवा प्रदान गर्दै आएको छ । गोल्छा ग्रुपअन्तर्गतको कम्पनीले ग्राहकलाई ‘इन्स्टा फाइनान्स’ सेवा उपलब्ध गराउँदै आएको छ।
कम्पनीको चुक्ता पुँजी ८३ करोड रुपैयाँ छ । कम्पनीले दुई पाङ्ग्रे, तीन पाङ्ग्रे तथा चार पाङ्ग्रे सवारीसाधन, मोबाइल फोन, उपभोक्ता इलेक्ट्रोनिक्स, ल्यापटप र फर्निचर खरिदका लागि उपभोक्ता फाइनान्सिङ सेवा प्रदान गर्दै आएको छ।
कम्पनीले बुक बिल्डिङ विधिबाट २० लाख ७५ हजार कित्ता प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ । आईपीओ निष्कासनका लागि कम्पनीले दुई वर्षअघि नै एनएमबि क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ।
सन् २०१२ मा हुलास इन्भेस्टमेन्ट कम्पनीका रूपमा स्थापना भएको कम्पनीको नाम सन् २०२१ मा हुलास फिनसर्भमा परिवर्तन गरिएको थियो । त्यसपछि सन् २०२३ नोभेम्बरदेखि कम्पनीको नाम हुलास फिनसर्भ हायर पर्चेज राखिएको हो।
कम्पनीमा हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालिको ८५ प्रतिशत सेयर स्वामित्व रहेको छ भने बाँकी १५ प्रतिशत सेयर हुलास अटोक्राफ्ट, हिम इलेक्ट्रोनिक्सलगायत ६ जनाको स्वामित्वमा रहेको छ । हंशराज हुलासचन्द एन्ड कम्पनी नेपालमा बजाज मोटरसाइकलको आधिकारिक विक्रेता हो । कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक शेखर गोल्छा हुन्।
देशको असहज आर्थिक अवस्था र तरलता संकुचनका बाबजुद कम्पनीले मजबुत वित्तीय प्रदर्शन गरेको जनाएको छ। कम्पनीले आफ्नो वित्तीय प्रतिवेदनमा भनेको छ, ‘हामीले अन्डरराइटिङ मापदण्डमा गरेको कडाइ र सुरुवाती चरणमै गरिएको असुली प्रयासका कारण सम्पत्तिको गुणस्तर कायम राख्न सफल भएका छौँ।’



