काठमाडौं । आफ्नो अस्पतालमा उपचार गर्न आएमा केएमसीले कतारमा कार्यरत नेपालीलाई ५० र आश्रित परिवारलाई १५ प्रतिशत छुट दिने घोषणा गरेको छ । संघीय सांसद समेत रहेका काठमाडौँ मेडिकल कलेज (केएमसी)का मालि डा. सुनिलकुमार शर्माले उक्त घोषणा गरेका हुन् ।
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, कतार र नेपाली जनसम्पर्क समिति कतारबीच नेपाली राजदूत डा नरेशविक्रम ढकालको उपस्थितिमा काठमाडौँ मेडिकल कलेजले उक्त सम्झौता गरेको हो । सम्झौताअनुसार अब कतारमा बसोबास गर्दै आएका सम्पूर्ण गैरआवासीय नेपाली तथा वैदेशिक रोजगारको सिलसिलामा कतारमा काम गर्दै आएका नेपाली श्रमिक उपचार गर्न केएमसी आउँदा ५० प्रतिशत छुट दिइने छ । सम्झौताको अवधि १ वर्ष रहेको छ ।
यसैगरी कतारमा कार्यरत नेपाली श्रमिकको आश्रित परिवारलाई केएमसीले अस्पताल सेवामा १५ प्रतिशत छुट उपलब्ध गराउने छ । यसका लागि परिचयपत्र र नाता प्रमाणित हुने कागजात भने आवश्यक पर्ने जनाइएको छ । उपचार सेवासम्बन्धी सम्झौतापत्रमा केएमसीका तर्फबाट कार्यकारी अध्यक्ष सोइना शर्मा र सल्लाहकार इन्दिरा शर्मा (बराल) तथा गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद्, कतारका तर्फबाट परिषद्का अध्यक्ष रमेश भट्ट र प्रथम उपाध्यक्ष कृष्ण पन्थीले हस्ताक्षर गरेका छन् भने नेपाली जनसम्पर्क समिति कतारसँग भएको सम्झौतापत्रमा समितिका सभापति मोहमद अजिज अलि र महामन्त्री केदार भुसालको हस्ताक्ष रहेको छ ।



