काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले विदेशी कूटनीतिक नियोगका प्रमुखहरूसँग भेटघाट गर्ने भएका छन् । सामूहिक रूपमा एक पटक सबैसँग भेट गरिसकेका उनले अब भने एक्लाएक्लै भेटघाट गर्न थालेका हुन्।यसअघि प्रधानमन्त्री बालेनले विदेशी राजदूतसँग छुट्टाछुट्टै भेट गर्न अस्वीकार गर्दै आएका थिए । सोमबारदेखि उनले विभिन्न देशका राजदूतसँग छुट्टाछुट्टै भेटघाट गर्दै छन् । सुरुवातमा भारतीय राजदूत नविन श्रीवास्तवसँग भेटघाट हुने भएको छ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार सोमबार बिहान भारतीय राजदूत श्रीवास्तवसँग भेटघाट गरेपछि प्रधानमन्त्री बालेनले नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसँग भेट्ने र त्यसपछि अमेरिकालगायतका राजदूतहरूसँग भेट्ने योजना छ।चैत १३ गते प्रधानमन्त्रीमा नियुक्त भएपछि बालेनलाई शुभकामना तथा बधाइ दिन राजदूतहरूले समय माग गरेका थिए । यद्यपि उनले कसैलाई नभेटी चैत २५ गते एकैपटक सबै देशका राजदूतसँग सामूहिक भेटघाट गरेका थिए । सोही क्रममा परराष्ट्र मन्त्रालयमार्फत नेपालको विदेश नीतिबारेमा पनि जानकारी गराएका थिए।
सामूहिक भेटमा भारत, पाकिस्तान, कोरिया गणराज्य, बेलायत, कतार, स्विट्जरल्यान्ड, फ्रान्स, इजरायल, जापान, बंगलादेश, जर्मनी, इजिप्ट, श्रीलंका, साउदी अरेबिया, चीन, संयुक्त राज्य अमेरिका र संयुक्त राष्ट्र संघका राजदूत तथा नियोग प्रमुखहरू उपस्थित थिए।त्यसपछि उनले जेठ १२ गते नेपालस्थित युरोपेली संघ (ईयू)मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग सामूहिक भेमटवार्ता गरेका थिए।
समूहमा भेटिसकेका राजदूतहरूले त्यसपछि पनि प्रधानमन्त्री बालेनसँग छुट्टै भेट्ने प्रयास गरेका थिए । तर उनले त्यस्तो भेटवार्ताका लागि समय दिएका थिएनन् । उनले विदेशबाट आउने उच्चस्तरयीय कुटनीतिज्ञहरूसँग पनि भेट्न मानेका थिएनन्।
अमेरिका र चीनबाट आएका विशिष्ट अतिथिहरूलाई पनि प्रधानमन्त्री बालेनले भेट दिएका थिएनन् । प्रधानमन्त्री बालेनले भेट्न नमानेपछि भारतका विदेश सचिव विक्रम मिस्रीले आफ्नो भ्रमण नै स्थगित गरेका थिए।
कूटनीतिक क्षेत्रका व्यक्तिहरूसँग भेटघाट गर्नुपर्छ भनेर प्रधानमन्त्री बालेनलाई धेरै ठाउँबाट सुझाव आइरहेको थियो । परराष्ट्रमन्त्री शिशिर खनालले पनि भेटघाट तथा भ्रमणका लागि थुप्रैपटक प्रयास गरेका थिए, तर प्रधानमन्त्री बालेनले सिधै इन्कार गर्दै आएका थिए।
प्रधानमन्त्री बालेनका कारण नेपालको अन्तर्राष्ट्रिय सम्बन्धहरू धमिलो हुँदै गइरहेको थियो । त्यसलाई सम्हाल्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र परराष्ट्रमन्त्री शिशिर खनाल आफैँ सक्रिय भएका थिए । यो बिचमा सभापति लामिछानेले भारतको पाँच दिने भ्रमण गरिसकेका छन् । परराष्ट्रमन्त्री खनालले भारत र चीनको भ्रमण गरिसकेका छन् । सभापति लामिछाने चीन भ्रमणमा जाने तयारीमा छन्।
अमेरिकामा हुन गइरहेको संयुक्त राष्ट्र संघको महासभामा भाग लिन प्रधानमन्त्री बालेन जानुपर्नेमा उनी नजाने भएपछि परराष्ट्रमन्त्री खनाल आफैँ जाने तयारी गरिरहेका छन्।
प्रधानमन्त्री बालेनलाई भारत र चीनबाट भ्रमणका लागि निम्तो आएको छ, तर हालसम्म उनले विदेश भ्रमणमा जाने मनस्थिति बनाएका छैनन् । भोलिदेखि उनले राजदूतहरूसँग भेटघाट सुरु गर्दैछन् । सो भेटघाटपछि उनी विदेश भ्रमण जाने वातावरण बन्ने अपेक्षा गरिएको छ।



