काठमाडौँ । चीनका लागि पूर्वनेपाली राजदूत महेश मास्केले भारत र चीनको बिचमा नेपाल एक विशिष्ट स्थानमा अवस्थित रहेको बताएका छन्।नेपाल इन्स्टिच्युट फर इन्टरनेसनल को–अपरेसन एन्ड इन्गेजमेन्ट (एनआईआईसीई) र चीनको फुदान विश्वविद्यालयअन्तर्गतको दक्षिण एसिया अध्ययन केन्द्रको आयोजनामा शनिबार सम्पन्न ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसिया’ विषयक अन्तर्राष्ट्रिय गोष्ठीमा उनले नेपाल दुई देश बिचको ‘बफर’ देश होइन, पुरानो इतिहास र संस्कृति भएको एक सार्वभौमसत्ता सम्पन्न देश रहेको प्रस्ट पारे।
नेपालको विदेश नीतिले लामो समयदेखि सार्वभौम समानता, असंलग्नता, शान्तिपूर्ण सहअस्तित्व र सन्तुलित सम्बन्धमा जोड दिँदै आएको उल्लेख गर्दै पूर्वराजदूत मास्केले यी सिद्धान्त आज पनि उत्तिकै महत्त्वपूर्ण रहेको र वर्तमान क्षेत्रीय भूराजनीतिक परिवेशमा अझ बढी सान्दर्भिक रहेको बताए।
भारत नेपालको सबैभन्दा नजिकको आर्थिक साझेदार, सबैभन्दा ठुलो व्यापारिक गन्तव्य, प्रमुख पारवहन मार्ग र रोजगारीको स्रोतका रूपमा रहेको बताउँदै उनले चुनौती कुनै एक पक्ष चुन्नुमा होइन, आफ्नो स्वतन्त्रता जोगाउँदै विभिन्न साझेदारी देशहरूको व्यवस्थापन गर्नुमा रहेको प्रस्ट पारे । रणनीतिक स्वायत्तता कायम राख्नुपर्नेमा उनले विशेष जोड दिए।
सन्तुलित संलग्नताले आर्थिक तथा प्राविधिक सहकार्य, पूर्वाधार, लगानी र कूटनीतिको विविधिकरण गरेर स्वायत्ततालाई पूरकको रूपमा सहयोग पुर्याउने विश्वास व्यक्त गर्दै उनले जलविद्युत् उत्पादन, विद्युत् व्यापार, पर्यटन, डिजिटल कनेक्टभिटी, जलवायु अनुकूलन र यातायात करिडोरहरूमा ध्यान केन्द्रित गर्नुपर्ने बताए।
नेपालले क्षेत्रीय र बहुपक्षीय कूटनीतिलाई बलियो बनाउनुपर्ने कुरामा जोड दिँदै पूर्वराजदूत मास्केले शान्तिका लागि नेपालले गरेको प्रयासका कारण नेपालको शान्ति कूटनीतिले चीन र भारतसँगको त्रिदेशीय सहकार्यलाई अगाडि बढाउन मद्दत पुग्ने बताए।
फुदान विश्वविद्यालयको दक्षिण एशिया अध्ययन केन्द्रका निर्देशक प्रा. डा. झाङ जियाडोङले चीन र भारतसँग सन्तुलित सम्बन्ध कायम राख्ने नेपालको नीतिको प्रशंसा गरे । चीन र नेपाल पहाड र नदीले जोडिएका मैत्रीपूर्ण छिमेकी देश रहेको उनले उल्लेख गरे । उनले आर्थिक कूटनीतिलाई प्राथमिकता दिँदै राष्ट्रिय हितमा नयाँ शैलीको कूटनीति अपनाउनुपर्नेमा जोड दिए।
चीन, नेपाल र भारतबिचको ऐतिहासिक ट्रान्स हिमालय सभ्यतागत सम्बन्धको उल्लेख गर्दै उनले सांस्कृतिक निकटता मात्र पर्याप्त नहुने प्रस्ट पार्दै त्यसलाई व्यावहारिक क्षेत्रीय सहकार्यमा रूपान्तरण गर्नुपर्नेमा जोड दिए।
दुई दिनसम्म चलेको गोष्ठीमा आठ वटा विषयगत सत्र आयोजना भएको थियो । ती सत्रमा बहुध्रुवीय विश्वमा चीन र दक्षिण एशिया, नेपाल–चीन–भारत त्रिपक्षीय सहकार्य, तीन देशबिचका द्विपक्षीय सम्बन्ध, रणनीतिक प्रतिस्पर्धा तथा सुरक्षा, आर्थिक करिडोर र क्षेत्रीय विकास, सौम्य शक्ति र शैक्षिक कूटनीति, तथा नेपालको आन्तरिक राजनीति र परराष्ट्र नीति लगायतका विषयमा छलफल भएको थियो।
सम्मेलनमा चीनका फुदान विश्वविद्यालय, युनान एकेडेमी अफ सोशल साइन्सेज, सांघाई इन्स्टिच्युट्स फर इन्टरनेशनल स्टडिज, हेबेई युनिभर्सिटी अफ इकोनोमिक्स एन्ड बिजनेस, भारतका मनोहर पर्रिकर इन्स्टिच्युट फर डिफेन्स स्टडिज एन्ड एनालाइसिस, जवाहरलाल नेहरू विश्वविद्यालय, दिल्ली विश्वविद्यालय, फोर स्कूल अफ म्यानेजमेन्ट, तथा नेपालका पूर्व चिनियाँ राजदूतहरू, त्रिभुवन विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, नीति अनुसन्धान प्रतिष्ठान र एनआईआईसीईका विशेषज्ञहरू सहभागी थिए।



